काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ। नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ अनुसार शनिबार बिहान ५ बजेसम्म उक्त संख्यामा शव फेला परेका हुन्।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेका छन्। यस्तै, बाढीका कारण शरीरका आंशिक अंग मात्र फेला परेका ५०१ जनाको विवरण पनि तथ्यांकमा समावेश गरिएको छ।
बाढीपछि हालसम्म चार हजार ८९८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यद्यपि, सुरक्षाकर्मीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान जारी राख्दै आठ हजार ६३१ जनाको उद्धार गरिसकेका छन्।
बाढीको घटनामा २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् भने ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सात हजार ९१२ जना सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ। उद्धार टोलीले विभिन्न स्थानमा फसेका तथा विस्थापित नागरिकको उद्धारसँगै शव खोजी र राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।