काठमाडौं, नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले हालै एक विशेष कार्यक्रमका बीच सेवाको शुभारम्भ गरेको छ । सोरुकोटमा सेवा शुभारम्भ कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताए । सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकता अनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए । बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना र नातीखोलालगायतका गुम्बासम्म अर्थात बाजुराबाट रानिसैन पुग्ने पदमार्गमा कभरेज पुगेको छ । त्यसैगरी कुवाडी खोलाको संगममा रहेका गाउँहरू तथा हुम्ला ताँजाकोट २ जाने मार्गमा समेत यसको कभरेज पुगेको छ ।
फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिन सक्ने भएका छन् । यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्नुका साथै सो क्षेत्रका बासिन्दाका लागि सूचना, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।