रसुवास्थित भोटेकोशी र त्रिशूली नदीमा अचानक आएको बाढीले पुर्याएको ठूलो जनधनको क्षति आफैँमा अकल्पनीय र अपूरणीय हो । करिब–करिब निमेषभरमा नै यसले देखाएको ताण्डवले कति मानवीय क्षति भयो भन्ने खुल्न बाँकी नै छ । सम्पर्कविहीन रहेका नेपाली र संसारभरिकै नागकिरहरूको अज्ञात अवस्थाको संख्या त्यतिकै ठूलो छ भने जे–जति मृत अवस्थामा फेला परे । तिनको सग्लो शरीर पाउँन पनि मुस्किल देखियो । यो आफैँमा कति विभत्स रुप हो भन्ने प्रष्ट हुन्छ । मानवीय क्षतिको त आँकलन नभइरहेको समयमा भौतिक क्षतिको हिसाब–किताब पछि हुने कुरा हो । तर मानवीय क्षतिको जस्तो आकार देखियो । यसले भौतिक क्षतिको पनि मोटामोटी आँकलन गर्न भने सकिन्छ नै ।
यस्ता दैविक विपत्तिमा कुनै पनि राष्ट्रले कल्पना नगरको क्षति सहनुपर्छ नै । यस्तो बेला चौतर्फी राहतको अपेक्षा गरिन्छ जुन स्वाभाविक पनि हो । राहतकै कुरा गर्दा अहिलेसम्म देशभित्रबाट जस्तो सहयोग संकलन भइरहेको छ त्यो आफैँमा एउटा सराहनीय काम हो भन्नुपर्छ । त्यस्तै यति ठूलो क्षतिपछि अन्तर्राष्ट्रिय समुदायले जसरी सहयोगी हात अघि बढाएका देखिएको छ । त्यसले दुःखको यो क्षणमा नेपाल देश र यसका नागरिक एक्ला छैनन् है भन्ने सन्देश दिन्छ ।
देशका संघसस्थाहरूले जसरी राहतमा खुलाहात देखाइरहेका छन् । अन्तर्राष्ट्रिय समुदायले पनि नेपाललाई त्यही रूपले आवश्यक पर्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता निरन्तर जनाइरहिएको अवस्था छ । यस्तो राहतका लागि कतिले विज्ञप्तिमार्फत त कतिले आफ्ना समकक्षीलाई सम्पर्क गरेर तथा कतिले दूत नै पठाएर नेपाल र नेपालीमाथि आइपरको यो दुःखको क्षणमा आफूहरू साथमा छौं भनेर यो विनास पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि जसरी ऐक्यबद्धता प्रकट गरेका छन् । त्यसलाई नेपाल र नेपालीले हार्दिकताका साथ लिनुपर्छ । यो विध्वंश गएको बुधबार, १० भदौ बिहान ८ः४० बजेको हो ।
योे बाढीले जनधनको ठूलो क्षति गरेको भनेर समाचार आउन थालेलगत्तै भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई टेलिफोन गरेर बाढीका कारण ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा भारतका जनता नेपालको साथमा रहेको जानकारी दिए । उनले भने, ‘भारत नेपाललाई सम्भव भएसम्मका सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन तयार छ ।’ बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीका सूची पठाउन पनि आग्रह गरे । त्यसैदिन भारतले पहिलो खेपमा १० टन मानवीय सहायता तथा विपद् राहत पठायो पनि । अर्र्को छिमेकी देश चीनले पनि तत्कालै नगदलगायतका सहयोग गर्ने प्रतिबद्धता जनायो । अमेरिकी विदेशमन्त्री र पछि राष्ट्रपतिले पनि आफूहरू यो पीडामा साथमा रहेका भन्दै सहयोगको प्रतिबद्धता जनाए । यो क्रम जापान, बेलायत, अष्ट्रेलिया लगायत संसारभरिका धेरै देशले कायम राखे र त्यो क्रम जारी नै छ ।
विभिन्न देशले जस्तै वित्तीय संस्थाले पनि यो बाढीको समाचार बाहिर आउन थालेपछि लगत्तै नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशकले विभिन्न स्रोतबाट आपतकालीन सहयोग जुटाउने प्रतिबद्धता जनाए । उनले त रकमै तोकेर २५ अर्ब सहयोग गर्न सकिने भनेर नेपालीको दुःखप्रति आत्मसाथ हुन खोजे । एउटा संस्थाले गरको सहयोगको यो रकमले दिने सन्देश भनेको पनि नेपाल यो क्षणमा एक्लो छैन है भन्ने नै हो । यता देशभित्रै पनि जसरी सहयोग प्राप्त हुँदै छन् । त्यसमा पनि दाताहरूले हात खुलाएकै स्थिति छ । विगतमा यस्ता विपद्प्रति त्यति उदार नभएका दाताहरू यो पटक ठूलै रकम लिएर रसुवा पीडामा महलम लाउन तयार भएका देखियो । वस्ती नै बगर भएको अवस्थामा र कतिपय व्यक्तिका त परिवार नै सखाब भएको स्थितिमा यो रकमले बाँचेकाहरूलाई राहत पुग्नुपर्छ भन्ने मान्यता हो । यो पटक अपेक्षाकृत नै सहयोग प्राप्त हुन्छ होला भन्ने यी केही संकेत हुन् तर दरुपयोग पनि हुने चुनौती भने छँदैछ । सरकार यसमा निकै चनाखो हुनुपर्छ ।