‘......... बयानको क्रममा बहादुर शमशेरले शुक्रराजसंग सोधे– त्यस्ता कार्यहरू गरेर तँ नेवारले हाम्रो मुलुकमा के खोजेको? शुक्रराजले जवाफ दिए, ‘मौलिक अधिकार ।’ बहादुर शमशेरले सोधे, अधिकार भनेको के हो ? शुक्रराजले कडकेर भने– ’अधिकार भनेको फन्डामेन्टल राइट’, बहादुर शमशेरले फेरि रिसाएर ठूलो स्वरमा कराए । राइट भनेको के हो? शुक्रराजले पनि त्यस्तै स्वरमा भने, ‘हक, मैले मेरो हक खोजेको, बहादुर शमशेर उफ्रिए, ‘हाम्रो राज्यमा तँ नेवारको हक.................... ।’
माथी उल्लिखित बातचित प्रकाश वस्तीद्वारा लेखिएको ’एउटा अविस्मरणीय मुद्दा र यसका ती अमर योद्धा’ भन्ने लेखबाट लिइएको हो । बीस पृष्ठ लामो यो लेख पढ्ने जो कोही नेपालीको आँखाबाट आशु आउनेछ र प्रत्येकले बुझ्नेछन् यो लोकतन्त्र त्यति सजिलै आएको होइन रहेछ र यो लोकतन्त्र ल्याउन धेरैले ठूलो मूल्य चुकाएका रहेछन् भन्ने कुरा प्रकाश वस्तीको यो लेख बुझ्नेले थाहा पाउनेछन् । चिना हराएको मान्छे भन्ने पुस्तकका लेखक तथा वरिष्ठ कलाकार हरिवंश आचार्य उनको पुस्तकमा उल्लेख गर्छन् कि एकपल्ट पूर्वराजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रले उनलाई स्कुलका केटाहरूले जिस्काएको रिसमा हरिवंश पढ्ने स्कुलमा गएर स्वर्गीय धीरेन्द्रले ती केटाहरूप्रति पेस्तोल ताकेका थिए । स्कुलका हेडमास्टरले ती केटाहरूलाई धीरेन्द्रसंग माफ माग्न लगाएपछि मात्र धीरेन्द्रले त्यसै छोडिदिएका थिए । नेपालको संविधानमा सुनिश्चित गरिएका मौलिक हकहरू धारा १६ देखि ४६ सम्म ३१ वटा मध्ये विचार तथा अभिव्यक्तिको स्वतन्त्रता धारा १७ को स्वतन्त्रताको हकको सुरुमै उल्लेख गरिएको छ ।
यो लेखमा लोकतन्त्र र यसका उपलब्धिहरूलाई नेपालको सन्दर्भसहित विश्व परिवेसलाई जोडेर हेर्ने प्रयास गरिनेछ । साथै हालको अवस्थामा कसरी लोकतन्त्रमाथि लोकप्रियतावादको आक्रमण रहेको छ र यो लेखमार्फत यो वर्तमान पुस्तालाई कुनै पनि व्यवस्था लोकतन्त्रको विकल्प हुन सक्दैन र अन्त्यमा लोकप्रियतावादको आफैँ पनि निरासा र असफलतामा अन्त्य हुनेछ भन्ने शिक्षा दिनु नै यो लेखको उद्देश्य रहेको छ ।
प्राचीन एथेन्सलाई लोकतन्त्रको जननी मानिन्छ । यो झन्डै ५०८ इसा पूर्वको समय थियो । त्यतिखेर देखि नै एथेन्समा संविधानको अवधारणा र लोकतन्त्रको बारेमा कल्पना गर्न थालिएको थियो । झन्डै २५३० वर्ष पहिले नै लोकतन्त्रको अवधारणागत विकास भएको थियो र कालान्तरमा लोकतन्त्रको कुनै पनि विकल्प छैन भन्ने कुरा लगभग पुष्टि नै भयो तर यो युगमा आएर हामी नेपालीहरूमा लोकतन्त्रको कुनै विकल्प छ कि भन्ने बहस चलेको छ जसले हाम्रो मुर्खतालाई प्रमाणित गर्दछ ।
एकपल्ट अब्राहाम लिंकनले भनेको सारै प्रसिद्ध कथन यहाँ दोहो¥याउनु सान्दर्भिक हुन्छ जसलाई धेरैले पटक–पटक दोहो¥याएका छन्, ‘तिमीले केही समयका सबै मानिसहरूलाई मुर्ख बनाउन सक्छौ, तिमीले सबै समयका केही मानिसहरूलाई मुर्ख बनाउन सक्छौ तर तिमीले सबै समयका सबै मानिसहरूलाई मुर्ख बनाउन सक्दैनौ ।’ यो भनाइले यो पुष्टि गर्दछ कि सबै समयका केही मानिसहरूलाई बाहेक बाँकी रहेका सबै मानिसहरूलाई मुर्ख बनाउन नसकिँदोरहेछ । यही कुरो लागू भएको छ आजको युगमा पनि । एउटा राजनीतिक दलले एउटा युगका निश्चित मानिसहरूको समूहलाई मुर्ख बनाउन सफल भएको छ भने अर्को कुनै राजनीतिक दलले अर्को समूहलाई मुर्ख बनाउन सफल भएको छ तर सबै राजनीतिक दलहरूले सबै स्वतन्त्र नागरिकहरूलाई मुर्ख बनाउन सफल भएका छैनन् र हुदैनन् पनि ।
आजको पुस्ताले गर्ने गल्ति यही नै हो कि यो पुस्ता हतार–हतार दौडीएर सगरमाथाको टुप्पोमा पुग्ने प्रयास गर्छ जुन असम्भव छ । यो पुस्ताले तुलना उस्तै–उस्तै कुराहरूको हुनुपर्दछ भन्ने कुरा कहिल्यै बुझ्दैन । अहिलेको यो युगमा लोकतन्त्र विश्वमा नै खतरामा छ भन्ने कुरा यो पुस्तालाई हेक्का छैन । अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताविना लोकतन्त्रको कल्पना गर्न सकिँदैन भन्ने कुराको सामान्य ज्ञान यो सिक्न नचाहने पुस्तालाई छँदै छैन । सामाजिक सञ्जाल, अनलाइन गेमहरू, फ्रि फायर, पब्जी, ग्याजेट, स्मार्टफोन, ट्यावलेट भन्दा पनि पर एउटा वास्तविक संसार छ भन्ने कुराको ज्ञान यो पुस्तालाई छैन । लोकतन्त्रका लागि लडेका नेता र पत्रकार साथै पत्रकारिता र विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई गाली गरेर ठिक ठाउँमा पुग्न सकिँदैन भन्ने कुराको ज्ञान यो पुस्त्रालाई छैन ।
अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड जे. ट्रंप लोकतन्त्रका लागि खतरा थिए । ट्रंप र उनका समर्थकहरूले त्यहाँको मिडिया र पत्रकारितालाई सधैँ ’फेक’ देखे त्यस्तै नेपालमा पनि यसको छाल मुख्य दलका ठूला नेताहरूमा अन्ततः देखापर्न थाल्यो त्यसपछि त झन् नयाँ जोगीहरूलाई झन् धेरै खरानी घस्ने र आफूलाई राष्ट्रको साँचो ठेकेदार सम्झने मौका आइहाल्यो । तर यो पुस्ताले एकदिन बुझ्नेछ कि नयाँ यी जोगीहरूले अन्त्यमा सबैलाई निरासा र असन्तुष्टिमा पु¥याउनेछन् । किन कि, लोकप्रियतावादको उन्मादमा आएका यी नयाँ जोगीहरू कहिल्यै पनि लोकतन्त्रको विकल्प हुन सक्दैनन् । नेपाली काँग्रेसले देशको लागि जति घात गर्यो त्योभन्दा बढी क्रमैसंग एमाले र माओवादीले गरे । यो पुस्ताले बुझ्नुपर्छ कि कुनै पनि राजनीतिक दर्शनविनाका यी नयाँ जोगीहरूले देशको लागि सबैभन्दा ठूलो घात गर्नेछन् किन कि कहिल्यै पनि लोकप्रियतावाद लोकतन्त्रको विकल्प हुँदैन र हुन सक्दैन ।
नेपालको पत्रकारिताको इतिहासमा कान्तिपुरलगायतका अन्य मिडिया हाउसका पत्रकारहरूले यो पुस्ताद्वारा ठूलो दुव्र्यवहार र घृणा सहनुप¥यो । पछिल्लो उदाहरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, समर्थक र लोकप्रियतावादका समर्थकहरूको साइबर आक्रमण झनै लोकतन्त्रको लागि खतरनाक रहेको पुष्टी भएको छ । अहिलेको युवा नेतृत्वले दुईचार वाक्यहरू अंग्रेजीमा बोल्दा र बिचबिचमा अंग्रेजी शब्दहरू मिसाएर बोल्दा यो पुस्ताले उनिहरूलाई साह्रै बौद्धिक र योग्य ठान्छ तर लोकतन्त्रका लागि लडेका नेता र पत्रकारलाई गालि गरेर नथाक्ने यो पुस्ताले कहिले बुझ्ने कि भाषा भनेको अभिव्यक्तिको माध्यम मात्र हो र कुनै भाषा बोल्दैमा कोही ज्ञानी र बौद्धिक हुने र नबोल्दैमा अरु अयोग्य र अज्ञानी ठहरिदैनन् ।
यो लेखमा मैले यो वर्तमान पुस्तालाई घरिघरि दुष्ट, सिक्न नचाहने, हठि र निच भनेर दोष लगाएको छु । यसको पछाडीको कारण सविस्तार यहाँ उल्लेख गर्दैछु । यो पुस्ता हतार–हतार गरेर दौडिएर सगरमाथाको टुप्पोमा पुग्न चाहन्छ र तुलना गर्दा फरक–फरक चिज र वस्तुको गरी परिणाम उस्तै आएको चाहन्छ तर यो असम्भव छ । एकैपटक दौडिएर कोही पनि एकैपटक सगरमाथाको टुप्पोमा कहिल्यै पुगेनन् । नेपालकै कुरा गर्ने हो भने हालको हाम्रो अवस्था एकाएक परिवर्तन भएर यत्तिको भएको होइन । आजभन्दा ३५ वर्ष पहिले नेपालको चेपाङ्ग समुदायले चामलको भात छाकैपिच्छे खान पाएका थिएनन्, नेपालको हकमा हामी नै पहिलो पुस्ता हौ जसले विधालय र विश्वविद्यालय जान पाएका छौँ अनि हामीमध्ये धेरैका बुवाआमाले कहिल्यै यो मौका पाएनन् । नेपालमा पेटभरी खान पाएको पहिलो पुस्ता हामी नै हौ । नेपालमा विगतमा शासक वर्गले मात्र मोजमञ्जामा दिन बिताउन पाएको थियो तर गरिब र मध्यमवर्गले नेपालमा पुस्तौ पुस्तासम्म आधा पेट खाएर र नाङ्गो आङ्ग देखाएर जीउन बाध्य हुनुपथ्र्यो । राम्रो लाउने र मिठो खाने नेपालीहरूको पुस्तौँ पुस्तादेखिको सपना मात्र यो पुस्ताले पूरा गर्न पाएको छ । त्यसैले नेपालको वर्तमान पुस्ताले दुःख कष्ट, अन्याय र अत्याचार के हो बुझ्न सक्दैन ।
नेपालको संविधानको प्रस्तावनाको एउटा खण्डमा संविधानको निर्माता संविधानसभाले एउटा सार्है घतलाग्दो अनुच्छेद राखेको छ, ‘.............राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं सहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै ..............’ यो अग्रगामी परिवर्तनका लागि लडेका हाम्रा चार सहिदहरूलाई यो पुस्ताले बिर्सिसकेको छ । नेपाली जनताहरूले सहेको उत्पीडनको उल्लेख गरेर साध्य छैन । धेरै पुरानो गोपालकाल, महिषपालकाल र किराति शासनकालको कुरा छोडेर लिच्छवीकाल पछिको मल्लकाल जो शाहकाल भन्दा पहिलेको शासन व्यवस्था थियो यसको एउटा चित्र जसले नेपाली जनताहरूले सहेको उत्पीडनलाई दर्शाउनेछ । ‘मल्ल शासनकालमा कुनै शूद्रले ब्राहृमणी स्त्रीसँग करणी गरेमा लिङ्गछेदन गरी सो खान लगाइ सासना दिनुको साथै चाण्डालको हातबाट एकैपटकमा उसको टाउको काटिन्थ्यो ।’ यसको अर्थ कुनै शूद्र वा सानो जातको पुरुषले सहमतिमै कुनै ब्राहृमणी जातकी महिलासँग शारीरिक सम्पर्क गरेमा त्यस्तो पुरुषको लिङ्ग काटेर सो काटीएको लिङ्ग त्यही शूद्र पुरुषलाई खान लगाइ तत्कालै एकजना चाण्डाल भनिने व्यक्तिबाट त्यो शूद्र पुरुषको तरबारले टाउको काटेर उसको हत्या गरिन्थ्यो । यसबाट नेपालको चित्र देख्न सकिन्छ ।
त्यसपछि नेपालको शाहकाल हुँदै राणाकालमा नेपालीहरूले भोगेको उत्पीडनको गाथा र इतिहासको व्याख्या गरेर साध्य लाग्दैन । धेरैपछि राणाकालको अन्तिम समयतिर हो नेपालका तामाङ्गहरूले शासकहरूको लागि जीप गाडी ‘काठको नोल हालेर काधमा बोकेर मकवानपुरको हेटौडा, भिमफेदी हुँदै काठमाडाँै उपत्यका भित्र्याउँथे । यी सबै राजामहाराजा र शासकहरूको लागि ऐस, आराम र सुखसयलको लागि थिए ।’ राणाशासनको अन्त्यपछि २००७ सालको परिवर्तनपछि चाहीँ नेपाली जनताहरूले यो हालको उपलब्धि एकैपटक पाएका होइनन् । यसले लागि झन्डै एक शताब्दी लामो उत्पीडनको इतिहास नेपाली जनताहरूले भोग्नुपरेको छ । जसमा २००७ सालको परिवर्तनपछि २०१७ सालको राजा महेन्द्रको कदम अनि फेरि २०४६ सालसम्म प्रतिबन्धित राजनैतिक दलहरूको संघर्षको गाथा र इतिहास र शासन र सत्ताले जनताहरूमाथि गरेको दमन र उत्पीडन के सानो थियो र ? नेपाली जनताले गरेको २०४६ सालको आन्दोलन, दश वर्षे जनयुद्ध अनि २०६२÷२०६३ सालको आन्दोलनको उपलब्धि हो आज हामीले उपभोग गरेको स्वतन्त्रता र यो लोकतन्त्र । बडामहाराजाधिराज पृथ्वीनारायण शाहकै भनाइलाई सापटी लिने हो भने, ‘नेपाली जनताहरूको साना दुःखले आज्र्याको लोकतन्त्र होइन यो सबैलाई चेतना भया ।’
यो बरालिएको र बिग्रीएको पुस्तालाई मासु, भात, घ्यू, दही, चिउरा खान बाबु र आमाले गाली गर्नुपर्छ तर हामीभन्दा अघिल्लो पुस्ताले मिठो खान र राम्रो लुगा लगाउन सपना बुन्नुपथ्र्यो । यो पुस्तालाई अध्ययन गर्न अर्ति, उपदेश दिएको पच्दैन तर अनावश्यक कुराहरूमा अल्झिएर समय बर्बाद गर्न यो पुस्तालाई सिकाउनु पर्दैन । मादक पदार्थ र लागुपदार्थ खान, छाडा गीत संगीत, ¥याप गीत र रक म्युजिकलाई यो बिग्रीएको पुस्ताले आफ्नो आदर्श ठान्दछ । विदेशी छाडा संस्कृतिको अनुसरण गर्न पाउदा आफूलाई आधुनिक ठान्ने यो पुस्ताले बुझ्दैन कि आज हामीले उपभोग गरिरहेको यो लोकतन्तको लागि ठूलो मूल्य चुकाइएको थियो । ( लुइटेल अधिवक्ता हुन्)