काठमाडौँ, विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन विविध कार्यक्रम आयोजना गरी बिहीबार यो दिवस मनाइँदै छ ।
औँलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लामखुट्टेको टोकाइबाट लाग्दछ । हालसम्म नेपालमा १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ ।
नेपालमा गत आवमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए । पछिल्लो समय जलवायु परिवर्तनका असरका कारण उच्च हिमाली भेगमासमेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम उच्च हुँदै गएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागले जनाएको छ ।
सातवटै प्रदेशमा कीटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला स्थापना गरेर विभिन्न काम गरिरहेको विभागले जनाएको छ । किट रोग नियन्त्रण शाखाका प्रमुख डागोकर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लामा देखा परिसकेको छ ।