सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो । भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री भएका छन् । सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट पाँचौँ मुख्यमन्त्री बनेको हो ।
चार वर्षमा चार मुख्यमन्त्री
प्रदेश स्थापनापछि यहाँ पहिलो कार्यकालमा पाँचै वर्ष तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट मुख्यमन्त्री भएका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा भने हालसम्म चार जना मुख्यमन्त्री बनेका छन् । यहाँ दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल रहेका थिए । उनले विसं २०७९ पुष २८ देखि सोही वर्षको माघ २६ गतेसम्म जिम्मेवारी सम्हालेका थिए । त्यसपछि नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाहले माघ २७ देखि २०८१ वैशाख ५, दीर्घबहादुर सोडारीले वैशाख ६ देखि सोही वर्ष साउन २० गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि फेरि कांग्रेसका कमलबहादुर शाह दोस्रोपटक मुख्यमन्त्री बनेका हुन् । उनी पहिलोपटक एक वर्ष चार महिना आठ दिन र दोस्रोपटक दुई वर्ष आठ दिन मुख्यमन्त्री बने । शाहले सत्ता समीकरण बदलिएपछि बिहीबार पदबाट राजीनामा दिएको हो ।
यसरी दोस्रो प्रदेशसभा कार्यकालको सुरुआतदेखि नै सुदूरपश्चिममा सरकार गठन र विघटनको क्रम चलिरहेको छ । यहाँ कुनै पनि दलको एकल बहुमत नभएकाले केन्द्रमा बन्ने राजनीतिक समीकरणको प्रत्यक्ष प्रभाव पर्दै आएको छ । राससका अनुसार हाल ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सहज छ । यहाँ नेपाली कांग्रेसबाट १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् । एक जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल ५२ जना रहेका छन् ।