काठमाडौं, नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा इ–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ ।
नेपाल टेलिकमले साउन १ गते देखि यो सेवाको शुभारम्भ गरेको हो । यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा इ–सिम लिन चाहने सेवाग्राहीले इ–सिम डट एनटिसी डट नेट डट एनपी लगइन गरी त्यहाँ रहेको एप्लाइ फर लस्ट÷ड्यामेज सिममा क्लिक गरे पश्चात् दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।
सम्पूर्ण विवरण भरिसके पश्चात् ग्राहक स्वयं काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सकिने जनाइएको छ । यसका लागि आवश्यक ५० रुपैयाँ काउन्टरमै तिर्ने र आफू उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नामसमेत फारममै उल्लेख गर्नुपर्नेछ । प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात समेत उपलब्ध गराउनु पर्नेछ । कम्पनीका अनुसार ग्राहकको गोपनियता र आवश्यक सुरक्षाका लागि यी सबै व्यवस्था
गरिएको हो ।
इ–सिम डट एनटिसी डट नेट डट एनपी लगइन गरेर हाल हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन सकिने सुविधा थप गरिएको हो । यस पोर्टलअन्तर्गत नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई इ–सिम बनाउन, नयाँ फिजिकल सिम लिन र ग्राहक विवरण केवाईसी अद्यावधिक गर्नका लागि आवश्यक केवाईसी पोर्टलसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।