दोलखा । दोलखाको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य शैलुङको दिगो विकास, प्रचार–प्रसार र व्यवस्थापनमा जिल्लाका स्थानीय तहहरू एकजुट भएका छन् ।
शैलुङ डाँडामा भएको जिल्ला समन्वय समितिको १९औँ बैठकमा सहभागी स्थानिय जनप्रतिनिधिहरुले शैलुङलाई व्यवस्थित, सुरक्षित र दिगो पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकले शैलुङलाई दोलखाको साझा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । बैठकमा सहभागी वक्ताहरूले शैलुङ केवल शैलुङ गाउँपालिकाको मात्र नभई समग्र दोलखाको पहिचान र सम्भावना बोकेको पर्यटकीय क्षेत्र भएको बताए । प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, हिमशृंखलाको मनोरम दृश्य तथा जैविक विविधताले भरिपूर्ण शैलुङको व्यवस्थित विकासले जिल्लाको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उनीहरुको भनाइ थियो । जनप्रतिनिधिहरूले पर्यटन पूर्वाधार विस्तार, स्थानीय तहबीच सहकार्य तथा निजी क्षेत्रसँग समन्वय गरी शैलुङको प्रचार–प्रसारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकर, शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ तथा तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष सिर्जना सुवेदीले शैलुङ क्षेत्रमा निर्माण भएका पर्यटकीय संरचनाको व्यवस्थापनलाई चुस्त बनाउनुपर्ने बताए । उनीहरूले पर्यटकका लागि निर्माण गरिएका होटल, टहरा, विश्रामस्थललगायत संरचनालाई स्थानीय तहको करको दायरामा ल्याइ व्यवस्थित सञ्चालन गर्नुपर्ने बताए । यसबाट स्थानीय सरकारको राजस्व वृद्धि हुनुका साथै पर्यटकीय सेवाको स्तर सुधार हुने उनीहरुको भनाइ थियो । बैठकमा पछिल्ला दिनमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाबारे भइरहेको बहसले पनि स्थान पाएको थियो । सहभागीहरूले सार्वजनिक जग्गामा नयाँ अनधिकृत संरचना निर्माण गर्न नदिने तथा जोखिमयुक्त अतिक्रमित संरचनाको व्यवस्थापन गर्ने बताएका थिए ।
हाल सञ्चालनमा रहेका संरचनालाई कानुनी प्रक्रिया र आवश्यक मापदण्डभित्र रही व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै वक्ताहरूले विकास र संरक्षणलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने बताए । पर्यटन विकासका नाममा सार्वजनिक सम्पत्तिको दोहन हुन नहुने र प्राकृतिक तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखेर योजना कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ थियो । सहभागीहरुले शैलुङ क्षेत्रमा सडक, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन, पदमार्ग निर्माण तथा सूचना प्रवाहका क्षेत्रमा एकीकृत योजना आवश्यक रहेको बताए ।
यसैबीच, शैलुङको कालापानी क्षेत्रमा रहेका संरचना तथा सार्वजनिक जग्गा अतिक्रमणको विषय पछिल्ला दिनमा थप चर्चामा आएको छ । केही दिनअघि डिभिजन वन कार्यालय दोलखाका प्रमुखले अदालतबाट आदेश प्राप्त भएपछि कालापानी क्षेत्रमा डोजर सञ्चालन गरी अतिक्रमित संरचना हटाउने प्रक्रिया अघि बढाइने बताएका थिए । सो अभिव्यक्तिपछि शैलुङ क्षेत्रको व्यवस्थापन, पर्यटन विकास र संरचनाको भविष्यबारे जिल्लाभर बहस सुरु भएको थियो । यस्तै परिस्थितिमा जिल्ला समन्वय समितिले शैलुङमै जिल्लाका जनप्रतिनिधिहरूको बैठक आयोजना गरेको छ ।
बैठकमा सहभागी जनप्रतिनिधिहरूले पर्यटन प्रवर्द्धनसँग जोडिएका संरचनाको उचित व्यवस्थापन, नियमन तथा करको दायरामा ल्याउने विषयमा जोड दिएका छन् । उनीहरूले सार्वजनिक जग्गामा थप अनधिकृत संरचना निर्माण हुन नदिनुपर्ने तर हाल सञ्चालनमा रहेका संरचनालाई कानुनी प्रक्रिया अनुसार व्यवस्थित गर्दै लैजानुपर्ने बताए । समुद्री सतहबाट करिब ३ हजार १ सय ४५ मिटर उचाइमा रहेको शैलुङमा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका नौवटै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सरकारी कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।
सुनापति–शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन
रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ पर्यटकीय पदमार्ग (ट्रेल) विकासको सम्भाव्यता अध्ययन गरिएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको चारदिने स्थलगत अध्ययनले धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध यस क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘दुहु–सुनापति डाँडा–शैलुङ ट्रेल’ अध्ययन भ्रमणले रामेछाप र दोलखाका विभिन्न सम्भावनायुक्त पर्यटकीय स्थलहरूको वस्तुस्थिति, पहुँच, पूर्वाधार अवस्था तथा पर्यटन विकासका अवसरहरूको विस्तृत अवलोकन गरिएको टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीले जानकारी दिए । अध्ययन टोलीले सिन्धुलीस्थित प्रसिद्ध धार्मिकस्थल कुशेश्वर महादेव मन्दिर हुँदै रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रहरूको स्थलगत अध्ययन गरेको थियो । भ्रमणका क्रममा सुनापति क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदा, आकर्षक चिया बगान, लखपतिमाने डाँडालगायतका सम्भावनायुक्त गन्तव्यहरूको अध्ययन तथा अवलोकन गरिएको थियो ।
त्यसैगरी, हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र सानो शैलुङ र दुई जिल्ला दोलखा र रामेछापको सीमाक्षेत्रमा रहेको प्रसिद्ध ठूलो शैलुङको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व तथा पर्यटन सम्भावनाबारे पनि विस्तृत अध्ययन गरिएको छ । समुद्री सतहबाट तीन हजारभन्दा बढी उचाइमा रहेको शैलुङ क्षेत्र प्राकृतिक दृश्यावलोकन, धार्मिक पर्यटन, पदयात्रा तथा साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा परिचित छ । पछिल्लो समय काठमाडौँबाट छोटो दूरी र सहज पहुँचका कारण शैलुङ क्षेत्र आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित छ । स्थानीय होटल व्यवसायी धावा लामाका अनुसार हाल शैलुङ क्षेत्रमा मासिक तीनदेखि चार हजारसम्म पर्यटक पुग्ने गरेका छन् । होमस्टे सेवा, स्थानीय परिकार, सांस्कृतिक अनुभव र प्राकृतिक सौन्दर्यले पर्यटकको बसाइ अवधि बढाउन मद्दत गरिरहेको उनको भनाइ छ ।