काठमाडौँ, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ । बन्द सत्रको थप छलफल बुधबार बिहान पुनः हुने भएको छ ।
बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’को राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरेका थिए ।
छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले जानकारी दिए ।
उनका अनुसार बन्द सत्रको तेस्रो दिनको छलफल बुधबार बिहान साढे १० बजे पुनः सुरु हुनेछ । बुधबारको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक आचार्यले बताए ।