काठमाडौं, नेपाल राष्ट्र बैंकको बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेप तथा कर्जा प्रवाहसम्वन्धी यही कात्तिक २५ गतेसम्मको तथ्यांकले सञ्चालनमा रहेका ५३ संस्थाको कुल निक्षेप ८५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको देखाएको छ । तर, सोही अवधिमा कुल कर्जा प्रवाह भने ६१ खर्ब १८ अर्ब रुपैयाँमा सीमित छ ।
बैंकिङ प्रणालीमा निक्षेप र कर्जाबीचको ठूलो अन्तरले वित्तीय क्षेत्रमा लगानीयोग्य रकम पर्याप्त रहेको राष्ट्र बैंकको यो तथ्यांकले देखाएको हो । यही अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पुनः बैंकिङ प्रणालीबाट दुई खर्ब रुपैयाँ खिचेको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक उपकरण बिक्रीमार्फत उक्त रकम प्रशोचन गरेको हो । राष्ट्र बैंकका अनुसार शुक्रबार अपराह्न दुई बजेसम्म बोलकबोल प्रक्रियामार्फत दुई सय अर्ब रुपैयाँबराबरको निक्षेप उपकरण बिक्री गरी रकम खिचिएको हो । उक्त उपकरणको परिपक्व अवधि २० दिन तोकिएको छ । यसअनुसार उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ मंसिर १७ गते हुनेछ ।
राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूलाई लक्षित गरी उक्त निक्षेप उपकरण बिक्री गरेको हो । उपकरण खरिद गर्न इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म, पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको थियो । यसरी खरिद गरिएको निक्षेप उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक २५ गतेसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १६ वटा फाइनान्स कम्पनीको कुल निक्षेप ८५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । उक्त अवधिमा यी संस्थाहरूको कुल कर्जा प्रवाह ६१ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा वाणिज्य बैंकहरूको मात्रै कुल निक्षेप ७७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५४ खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ । यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरूको संयुक्त निक्षेप आठ खर्ब १७ अर्ब रुपैयाँ तथा कर्जा प्रवाह छ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । समग्र बैंकिङ प्रणालीको निक्षेप तथा कर्जा अनुपात अर्थात् कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७० दशमलव ९६ प्रतिशत रहेको छ । यसको अर्थ बैंक तथा फाइनान्स कम्पनीहरूले संकलन गरेको निक्षेपको तुलनामा कर्जा प्रवाहको हिस्सा अझै न्यून रहेको छ ।
बैकिङ क्षेत्रमा हाल कायम ७० दशमलव ९६ प्रतिशत सीडी रेसियोका आधारमा बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह गर्न सक्ने ठूलो ठाउँ देखिएको छ । सामान्यतया नियामकीय अधिकतम सीडी रेसियो ९० प्रतिशतलाई आधार मान्दा बैंकिङ प्रणालीले अधिकतम ७६ खर्ब ७९ अर्ब रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्ने देखिन्छ । हालको ६१ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाहलाई घटाउँदा बैंकिङ क्षेत्र थप करिब १५ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्थामा रहेको छ ।