काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले छठपर्वको उपलक्ष्यमा सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा प्रकृति र आस्थाको पर्व छठको पावन अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
छठका माध्यमबाट हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउने उनले सन्देशमा उल्लेख गरेका छन् । “भगवान् सूर्यदेव र छठी माताको आराधनाका साथ परिवारको सुख, शान्ति, आरोग्य र सन्तानको दीर्घायुको कामना गर्दै यो पर्व मनाइन्छ”, उनले सन्देशमा भनेका छन्, “जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ । यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ ।”
भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस् भन्ने कामनासहित प्रधानमन्त्री शाहले छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्न प्रेरणा प्रदान गरोस् भनेका छन् । प्रधानमन्त्री शाहले षष्टी माताको पूजा गरिएको स्थानको तस्बिरसमेत सामाजिक सञ्जालमा पोष्ट गर्दै मैथिलीमा लेखेका छन्- “छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि ।”