काठमाडौ, सम्पदामा हुने चोरी नियन्त्रण र हराएका वस्तु फिर्ता ल्याउन काठमाडौं महानगरपालिका र नमुना फाउन्डेसनबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्पदा संरक्षण, अभिलेखीकरण, सुरक्षा र पुनःप्राप्तिका लागि महानगरपालिका र फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र फाउन्डेसनका अध्यक्ष रविन्द्र पुरीले कार्यवाहक प्रमुख सुनिता डंगोल तथा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार काठमाडौं महानगर क्षेत्रका ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पहिचान, अभिलेखीकरण, संरक्षण, जीर्णोद्धार र सुरक्षाका काम संयुक्त रूपमा अघि बढाइनेछ । चोरी तथा अवैध ओसारपसारमा परेका मूर्ति, कलाकृति र अन्य प्राचीन वस्तुको खोजी तथा पुनःप्राप्तिका लागि पनि सहकार्य गरिने सम्झौतामा उल्लेख छ ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पुरीले पछिल्लो पाँच वर्षमा ११८ वटा मूर्ति फिर्ता ल्याएको जानकारी दिए । आगामी पाँच वर्षमा एक हजार सांस्कृतिक सम्पदा स्वदेश फर्काउने लक्ष्यसहित महानगरसँग सहकार्य सुरु गरिएको उनको भनाइ थियो । उनका अनुसार हराएका तथा चोरी भएका सम्पदा फिर्ता ल्याउने अभियान सन् २००३ मा सुरु भएको हो ।
महानगरकी कार्यवाहक प्रमुख डंगोलले सम्पदा संरक्षणलाई महानगरपालिका, समुदाय र विभिन्न संघसंस्थाले छुट्टाछुट्टै रूपमा गर्दै आएका प्रयासलाई एकीकृत गर्न सहकार्य गरिएको बताइन् । उनले सम्पदाको पहिचान र त्यसको महत्वबारे जनचेतना अभिवृद्धि नगरी संरक्षण प्रभावकारी हुन नसक्ने उल्लेख गरिन् । समझदारीअनुसार वडा समिति, गुठी, मठमन्दिर व्यवस्थापन समिति, विहार तथा सम्पदासँग सम्बन्धित स्थानीय समुदायलाई संरक्षण अभियानमा सहभागी गराइनेछ । सम्पदा चोरी र अवैध ओसारपसार नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम, तालिम, गोष्ठी, अन्तरक्रिया तथा अनुसन्धानमूलक गतिविधि सञ्चालन गरिनेछ । महानगरपालिकाले सम्पदा तथा पर्यटन विभागका एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर विभाग, वडा कार्यालय र सरोकारवाला निकायबीच समन्वय गर्नेछ । साथै, सम्पदासम्बन्धी अभिलेख अद्यावधिक र सुरक्षित राख्दै संघीय तथा प्रदेश सरकार, पुरातत्व विभाग र सुरक्षा निकायसँग सहकार्य गर्नेछ ।
फाउन्डेसनले भने सम्पदा संरक्षण, जीर्णोद्धार र पुनःस्थापनाका लागि प्राविधिक ज्ञान, सीप तथा विज्ञ सेवा उपलब्ध गराउनेछ । चोरी भएका वा हराएका सम्पदा खोजी गरी फिर्ता ल्याउन आवश्यक कानुनी, प्राविधिक र प्रक्रियागत सहयोगसमेत गर्ने समझदारीमा उल्लेख छ । सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले स्थानीय तहको नेतृत्वमा हुने संरक्षण अभियानले समुदायस्तरका अभियन्तालाई प्रोत्साहित गर्ने बताए ।