विकसित प्रविधिको दुरुपयोग गर्दै मान्छेहरूले सामाजिक सञ्जालमार्फत एकअर्कालाई गाली गलौज गर्ने र अर्काको भए नभएको कुरा काट्दै खेदो खन्ने चलन नराम्रोसँग फैलि“दो अवस्था देखिन्छ । नराम्रा वा खराब मान्छेहरूले गाली खानु त सामान्य कुरा हो । तर कोही ख्याति प्राप्त व्यक्तिले केही सामग्री सामाजिक सञ्जालमा राखेमा उसले ताली सँगसँगै गाली पनि खाइरहेको हुन्छ अर्थात् धेरै सकारात्मक र थोरै नकारात्मक प्रतिक्रिया वा टिप्पणीहरू पाइरहेको हुन्छ । विशेषगरी राजनीतिक नेताहरूले कुनै सामग्री पोस्ट गर्दाबित्तिकै गालीहरूको वर्षा हुनथाल्छ । फुर्सद पनि कति पाएका होलान् स्रोता, दर्शक अनि पाठकहरूले? खेतबारी बाँझो छोडेर मोबाइल कोट्याउने र स्क्रिनमा औँला घिसार्दै दिन कटाउनेहरूको कमी छैन यहाँ । अरुको खेदो खनेर वा गाली गलौज गरेर आनन्द लिने जमात देख्दा लाग्छ कि उनीहरू मुलुकका भार मात्र हुन् । सिर्जनात्मक कार्यका लागि मोबाइल वा स्मार्ट फोनको सहारा लिनु राम्रो पक्ष हो भने दुरुपयोग गर्नु नितान्त नराम्रो पक्ष हो । मान्छेहरूमा संस्कारको अभाव बढ्दो छ । किसोर, युवा, अधबैंसे मात्र होइन सामाजिक सञ्जाललाई दुरुपयोग गर्नेहरूमा बुढापाकाहरू पनि देखिन्छन् । फेसबुक, टिकटक, युट्युब हेर्नेहरूले मननयोग्य कुराहरूमा भन्दा पनि नचाहिँदा कुराहरूमा बढी ध्यान लगाएको देखिन्छ । नेताहरूको प्रसंग कोट्याउँदा र उदाहरणको रुपमा भन्ने हो भने काँग्रेसका नेताले केही पोस्ट गरेमा एमाले र माओवादीका मान्छेहरूबाट गाली र आलोचना बग्रेल्ती देखिन्छन् । एमालेका नेताले केही पोस्ट गरेमा काँग्रेस र माओवादीकाले पनि त्यस्तै गर्छन् भने माओवादीका नेताहरूका पोस्टहरूमा काँग्रेस र एमालेका मान्छेहरूबाट गालीको वर्षा भइरहेको हुन्छ । स्वतन्त्र रुपमा रहेका जनताले त ठूला तीन दलकै नेताहरूलाई गाली गलौज गरेको झनै देखिन्छ ।
रिस उठेको मान्छेको फोटो फेसबुकमा राखेर तथानाम शब्दहरू प्रयोग गरेको पनि पाइन्छ । त्यस्तै जन्तुको रुपमा कार्टुन बनाएर नेताहरूको बेइज्जती गरेको विभिन्न फेसबुक पेजबाट सार्वजनिक गरिएको देखिन्छ । टिकटकबाट त झन साह्रै बेइज्जत हुने गरेर गाली गलौज गरिएको पाइन्छ । सामाजिक सञ्जालमा गाली गलौज गर्नुभन्दा कानुनको बाटो अपनाउदा राम्रो हुन्छ, किन कि न्यायालयहरूको के काम? अनि गृह प्रशासनको के काम? कानुनी बाटो अंगाल्ने बाटोहरू हुँदाहुँदै सामाजिक सञ्जालमा गाली गलौज गरेर सन्तुष्टि लिनु मुर्खता बाहेक अरु केही पनि हुनसक्दैन ।
नक्कली अभियन्ताहरूको बिगबिगीः
सामाजिक सञ्जालमा केही राम्रो कुरा बक्दैमा कोही सामाजिक अभियन्ता बन्न सक्दैन । एकपछि अर्को नौलानौला छद्मभेषी अभियन्ताहरू सामाजिक सञ्जालमार्फत कुर्लिन्छन् । केही भीड जम्मा पार्छन् । पछिल्लो समयमा धर्मलाई जोडेर राजनीति गर्न खोज्नेहरू पनि देखिन्छन् । विगतमा उनले गरेका अपराधहरू ढाकिन्छ वा छोपिन्छ र उनका अन्धभक्त समर्थकहरू संकेत पाउँदाबित्तिकै उनका पछाडि लागेर माइतिघर मण्डलामा तत्कालै भेला भैहाल्छन् । वास्तविकता के हो? बुझ्दैनन् केही जनताहरू । योग्य र क्षमतावान् युवाहरू विदेश पलायन भएपछि यस्तै हावादारी मान्छेहरूको जमात बाँकी देखिन्छ मुलुकमा ।
चर्चामा आएकाहरूबाट औषधिको विज्ञापनः
पछिल्लो समय कुलमान घिसिङ, नीर शाहलगायत चर्चामा आएका व्यक्तिहरू फेसबुकमा मालिस गर्ने अलगअलग तेलको विज्ञापनहरूमा देखिन्छन् । सामान्य मान्छेलाई विज्ञापनमा देखाइ“दा व्यवसाय नचल्ने हुँदा चर्चामा आएकाहरूलाई उपयोग गरिन्छ र गुणस्तरीय होस् वा नहोस् वस्तुको बिक्री भइहाल्छ । यसरी विज्ञापन गरिएको पोस्टहरूको टिप्पणीमा ‘मूल्य कति हो?’ ‘कहा“ पाइन्छ?’ ‘होम डेलिभरी हुन्छ कि हुँदैन?’ भनेर बिरामीहरूले जिज्ञासा राखिरहेको पाइन्छ । कसैकसैले ‘बुझेर मात्र प्रयोग गर्नु’ भनेर सल्लाह दिएको पनि देखिन्छ । हचुवाको भरमा औषधि किनेर प्रयोग गरिहाल्ने अधिकांश नेपालीहरूको बानी नै छ । कसैकसैले ‘मैले प्रयोग गर्दै आएको छु, राम्रो छ’ भनेर टिप्पणी गरेका पनि हुन्छन् । त्यस्ता औषधिहरूका बट्टा वा प्याकेट वा बोतल निकै आकर्षक देखिन्छन् । ‘यसले पिडा हटाउ“छ’, ‘यसले फुलेको कपाललाई कालो बनाउँछ’, ‘यसले यौन क्षमता बढाउँछ’, ‘यसले प्रेसर नियन्त्रण गर्छ’, ‘यसले सुगर घटाउँछ’, ‘यसले यसो गर्छ’ र ‘यसले उसो गर्छ’ भनेर विज्ञापनहरू बग्रेल्ती देख्न सकिन्छ । तर यस्ता औषधिहरू कति गुणस्तीय र भरपर्दो छन् भन्नेतिर प्रयोगकर्ताहरूको ध्यान जाँदैन । विज्ञहरूको रोहवरमा उत्पादन र प्याकिङ भएको हो भने त ठीक हो होइन भने त्यो सरासर अवैध कार्य हो । विज्ञापन यस्तो माध्यम हो जसले कपाल नभएको मान्छेलाई पनि काइयो बिकाउने एक विधि हो । एक किसिमले भन्नुपर्दा गुणस्तीय वस्तुहरूको खासै विज्ञापन गर्न आवश्यक छैन । विज्ञापन त त्यसको गरिन्छ जसको गुणस्तर हुँदैन र भ्रममा पारेर सामान बिकाइन्छ । यो कुरा सबैमा लागू भने हुँदैन । सर्वसाधारणहरूले सामाजिक सञ्जालमा राखेका कुराहरूलाई छिट्टै विश्वास गरेको देखिन्छ, जसलाई चेतनाको अभाव भनेर भन्न सकिन्छ । फेसबुकमार्फत प्रचार गरिएको दाह्री काट्ने इलेक्ट्रिक मेसिन एकपटक मैले किनेकोमा भोलीपल्टै बिग्रिएर काम नलाग्ने भएको थियो, जसका कारण हजार रुपियाँ स्वाहा भयो । अनलाइन व्यापार पनि खासै भरपर्दो देखि“दैनन् ।
टिकटकमा झारफुके विज्ञापनः
टिकटकमा आफूलाई फलानो माता, चिल्लानो गुरु भनेर ग्यारेन्टीका साथ उपचार गर्छौँ भनिन्छ । डिप्रेसन, एनजाइटी, स्ट्रेसको उपचार गर्छौँ, डाक्टरले निको पार्न नसकेको हामीले निको पार्छौँ भन्दै विज्ञापन गरेर मान्छेहरूलाई बेबकुफ बनाउ“दै धन लुट्ने गरेको देखिन्छ । उपचारको नाममा दश लाखसम्म ठगेको कुरा पनि टिकटकबाटै थाहा हुन्छ । डाक्टरले निको पार्न नसकेको रोग यहाँ निको हुन्छ भन्दै खुलेआम साइनबोर्ड राखेर झाँक्री–माताहरूको धन्दा चलाइरहेको पनि पाइन्छ । डाक्टर बन्नका लागि गरिने पैँसठ्ठी–सत्तरी लाख खर्च गरेको के काम? जब धामी–झाँक्री र माताले तमाम रोग निको पार्छन् भने ।
टाठाबाठाहरूको रजगजः
सामाजिक सञ्जालमार्फत क्यूआरबाट रकम मागेर धन कमाउने चतुर मान्छेहरूका बारेमा त समाचार आइरहेको पाइन्छ । गरिबहरूको उत्थानको नाममा पनि करोडौ–अर्बौँ रुपियाँ कमाउनेहरू पनि यहाँ नभएका होइनन् ।
सामाजिक सञ्जालले गर्छ पर्दाफासः
फलानो नेताको साँठगाँठ फलानो तस्कर–माफिया–गुण्डासँग छ भनेर पर्दाफास गर्ने माध्यम पनि सामाजिक सञ्जाल भएको छ । यस्ता कुरा वास्तवमा जनता सामु ल्याउनु सकारात्मक कुरा हो, तर वास्तविकता नबुझिकन यसरी सामाजिक सञ्जालमा राखिहाल्नु भने उचित हुँदैन । प्रमाणहरू स्पष्ट देखाउ“न सकिन्छ भने यसरी भण्डाफोर गर्नु मुलुकको हितमा हुनेछ । केही दिनअघि एकजना मान्छेले चारवटा पार्टीको सदस्यता लिएको कुरा परिचयपत्र सहित फेसबुकमा राखिएको थियो । उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन्, यस्ता बहुरुपी मान्छे त धेरै होलान् यो मुलुकमा । किन कि जसरी भए पनि काम लिनु र आफ्नो घर व्यवहार चलाउनु र मोज मस्ती गर्नु उद्देश्यले त्यसो गरिन्छ । यति मात्र होइन कुनै घर परिवारमा तीन दाजुभाइहरू अलगअलग पार्टीसँग आबद्ध भएको पनि पाइन्छ । आन्तरिक मनमुटावका कारण त्यस्तो भएको पनि हुनसक्छ । कोहीकोही भने जसरी पनि आफ्नो पोल्टामा फाइदा लिनका लागि तीन दाजुभाइ अलगअलग पार्टीसँग निटक रहन्छन् ।
साहित्य क्षेत्रमा पनि प्रसंशा र बदनामीः
कसैकसैले चाकडी स्वरुप हुनेखाने वा धनीमानी व्यक्तिको प्रसंशा गरेको पाइन्छ र उसलाई साहित्यिक क्षेत्रमा पुरस्कार कोष स्थापना गर्न लगाइन्छ । कसैले कविको फोटोसहितको कविता फेसबुकमा राखेर धज्जी उडाएको पनि पाइन्छ । त्यसैगरी विद्वान् भाषाविद्कोहरू पनि भण्डाफोर गरेर सिधै फेसबुकमा राखिएको देखिन्छ । टिकटकमा ‘यो मान्छे चिन्नुहुन्छ? यो यस्तो मान्छे हो, उस्तो मान्छे’ हो भनेर फोटो अगाडि राखेर तथानाम गाली गलौज गरेको पनि भेटिन्छ ।
युट्युबे पत्रकारहरूको कमाउ धन्दाः
कुनै कुनै युट्युबे पत्रकारहरू आफू चर्चामा आउन र सामाजिक सञ्जालमा भ्युज बढाएर डलर आम्दानी गर्न उद्यत देखिन्छन् । गाली त उनीहरूले पनि के कम खान्थे र? कुनै कुनै पत्रकारहरूका विगतका कर्तुतहरू बारे कसैकसैले फेसबुकमा फोटोसहित राखेको पनि पाइन्छ । चर्कोचर्को स्वरमा कुर्लेर मै हुँ भन्ने पत्रकारहरूले गर्दा पनि समाज भाँडिएको कुरा पक्कै हो ।
भ्रममा फस्ने यस्ता पनिः
कुनै जोगीले केही चमत्कार गरेको जस्तो सामग्री टिकटकमा पोस्ट गरेपछि बुझ्नेले ‘एआई’ हो भन्छन् भने नबुझ्नेले ‘जय महाँकाल!’ ‘जय गुरुदेव!’ जस्ता शब्दहरू प्रयोग गर्दछन् । त्यही भ्रामक सामग्री हेरेर तीनै जोगीको अखडामा गएर धन गुमाउने अन्धभक्तहरू पनि छन् समाजमा ।
अन्त्यमा
विश्व परिवर्तनशील छ, हरेक राष्ट्रहरू विकासको बाटोमा अगाडि बढिरहेका छन् । प्रविधिको विकास पनि भगवान्को देनभन्दा कम छैनन् । तारबिना एक कुनाबाट अर्को कुनामा डकुमेन्ट भिडियोहरू तत्कालै पठाउन सकिन्छ । कुनै बखतसम्म तारबाट गरिने टेलिफोनलाई त अचम्म मानिन्थ्यो भने अहिले तारबिना एकठाउँबाट अर्को ठाउँ आवाज जान्छ, सन्देश जान्छ । हातमा मोबाइल परेमा मोबाइलको आविष्कार र विकासका बारेमा पनि केही सोचौँ, मोबाइललाई ठट्टाको वस्तु सम्झिने नगरौँ । मोबाइल कुनै बोटमा सजिलै फलेको यन्त्र होइन । मोबाइललाई प्रयोगमा ल्याउनुअघि कसरी आविष्कार भयो अचम्म मान्नु र आफ्नो हातमा मोबाइल परेकोमा भाग्यमानी ठानेर त्यसलाई सदुपयोग गर्नु बुद्धिमानी ठहर्छ । मोबाइलको दुरुपयोग गरेर दुनियाँलाई गालीचलौज गर्नु मुर्खताबाहेक अरु केही पनि देखि“दैन । अतः विवेकहीन भएर मुर्खता होइन विवेकशील भएर बुद्धिमानी भएर मोबाइलमार्फत राम्राराम्रा कुराहरू हेरौँ, पढौँ र उचित सामग्रीहरू सम्प्रेषण गरौँ । समाजमा सकारात्मक सन्देश दिने खालका काममा मोबाइल कम्प्युटरको उपयोग गरौँ ।
मोबाइल मुक्तक–
मोबाइलको लतले आज के के गरेको छ
चौबिस घन्टा चलाइरहने बानी परेको छ
त्यसैले नै होला धेरै व्यवसायीहरूको आज
आम्दानीको सूचकांक तल झरेको छ ।