काठमाडौं, बृहत्तर लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण र दिगो विकासका लागि विभिन्न प्राथमिकता र कार्ययोजना तय गर्दै ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सम्पन्न भएको छ ।
नेपाल सरकार, युनेस्को, लुम्बिनी विकास कोष र विश्व बैंकको सहकार्यमा आयोजित तीनदिने सम्मेलनले लुम्बिनीको पवित्रता र सम्पदा संरक्षणसँगै स्थानीय समुदायको सहभागिता, पर्यटन विकास तथा पूर्वाधार निर्माणलाई व्यवस्थित गर्ने कार्ययोजना तयार गरिएको हो ।
सेप्टेम्बर १८ देखि २० सम्म भएको सम्मेलनमा सहभागीहरूले लुम्बिनीको पवित्र उद्यान तथा बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गतका तिलौराकोट–कपिलवस्तुलगायत प्रमुख सम्पदा स्थलको स्थलगत अवलोकन गरेका थिए । स्थलगत अध्ययनपछि विभिन्न विषयगत समूहमा छलफल गरी संरक्षण, व्यवस्थापन, पर्यटन, वातावरण र स्थानीय विकाससँग सम्बन्धित सिफारिसलाई प्राथमिकताका आधारमा तय गरिएको थियो ।
सम्मेलनले लुम्बिनी विकास कोष, स्थानीय नगरपालिका, सम्पदा स्थलका व्यवस्थापक र सम्बन्धित मन्त्रालयलगायत निकायलाई सिफारिस कार्यान्वयनको जिम्मेवारी तथा समयसीमा निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ । सम्मेलनबाट पवित्र उद्यानको शान्त बौद्ध वातावरण कायम राख्ने, धार्मिक तथा सांस्कृतिक गतिविधिले स्थानीय रीतिरिवाज र आस्थाको सम्मान गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै, सम्पदा संरक्षण, सामुदायिक विकास, वातावरण संरक्षण र स्थानीय जीविकोपार्जनका अवसरलाई एकीकृत गर्ने विकास अवधारणा अपनाउन सुझाव दिइएको छ । पूर्वाधार तथा विकास निर्माणअघि गुरुयोजना, भू–उपयोग योजना, संरक्षण योजना, जलवैज्ञानिक अध्ययन, ढल निकास तथा वातावरणीय न्यूनीकरण योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने सम्मेलनको निष्कर्ष छ ।