काठमाडौं, जगदम्बा मोटर्स प्रालिले आयोजना गरेको अपाचे रेस एक्सपेरियन्स (एआरई) रेसिङ क्वालिफायर्सको बुटवल चरणबाट १६० सीसी वर्गमा तीन राइडर ग्रान्ड फिनालेका लागि छनोट भएका छन् ।
तिलोत्तमा–५, कफी कम्पनी, मणिग्रामस्थित गौराङ्ग इजी वे ट्रायल सेन्टरमा आयोजित क्वालिफायर्समा धीरज विक पहिलो, अभिषेक पन्थी दोस्रो र अरिक श्रेष्ठ तेस्रो भएका हुन् । प्रतियोगितामा धीरजले ३४.०७ सेकेन्ड, अभिषेकले ३४.६२ सेकेन्ड र अरिकले ३४.८७ सेकेन्डको समय निकालेका आयोजकले जनाएको छ ।
बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा आयोजित प्रतियोगितामा ७६ जना राइडर सहभागी भएका थिए । प्रतियोगिताअघि सहभागीलाई राष्ट्रियस्तरका रेसर सुजन थापा मगर र नवाङ मोक्तानले रेसिङसम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोललगायतका विषय समेटिएको थियो ।
प्रशिक्षणपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक रेस सञ्चालन गरिएको थियो । शीर्ष तीनमा परेका धीरज, अभिषेक र अरिकले आगामी एआरई ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन् । ग्रान्ड फिनालेमा उनीहरूले काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराबाट छनोट भएका राइडरसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्रान्ड फिनालेमा १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । उक्त प्रतियोगितामा ५० भन्दा बढी देशका राइडर सहभागी हुने आयोजकको दाबी छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने राइडरको यात्रा तथा आवास खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्ने छ । जगदम्बा मोटर्सले एआरई कार्यक्रमअन्तर्गत काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा क्षेत्रीय रेसिङ क्वालिफायर्स आयोजना गरिरहेको छ । यससँगै सतुङ्गलस्थित भेहिकल रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा खुला ट्र्याक प्रशिक्षण सत्रसमेत सञ्चालन गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।