काठमाडौं, सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो दुई महिनामा १७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी खुदनाफा कमाएका छन् । भदौ मसान्तसम्म बैंकहरूले कुल १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ खुद मुनाफा कमाएका हुन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ३२ प्रतिशत अर्थात् एक अर्ब २१ करोड ५३ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
खुद मुनाफाको आकारका आधारमा नबिल बैंक पहिलो स्थानमा परेको छ । नबिलले भदौ मसान्तसम्म एक अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा एक अर्ब ३२ करोड ७१ लाख रुपैयाँ रहेको थियो । ग्लोबल आइएमई बैंकले पनि पनि चालू आवको पछिल्लो दुई महिनाको अवधिमा एक अर्ब ६९ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा तीन दशमलव शुन्य सात प्रतिशतले बढी हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने पछिल्लो अवधिमा एक अर्ब २७ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
राष्ट्र बैंकका अनुसार खुद मुनाफामा भएको वृद्धिदरको आधारमा हिमालयन बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकले पहिलो दुई महिनामा ५७ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५५ दशमलव १३ प्रतिशत बढी हो । सानिमा बैंकले पनि खुद मुनाफामा ४२ दशमलव १५ प्रतिशतको वृद्धि हासिल गर्दै एक अर्ब दुई करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि पछिल्लो अवधिमा २५ दशमलव ३१ प्रतिशतले बढेर एक अर्ब ११ करोड रुपैयाँ पुगेको छ । नेपाल एसबीआई बैंकले पनि १७ दशमलव ३२ प्रतिशत नाफा वृद्धि गर्दै ४१ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अन्य बैंकमध्ये प्राइम कमर्सियल बैंकले एक अर्ब १४ करोड आठ लाख, एनएमबी बैंकले एक अर्ब तीन करोड २३ लाख, एभरेष्ट बैंकले ९८ करोड ४७ लाख र प्रभु बैंकले ७४ करोड ४५ लाख रुपैयाँ नाफा कमाएका छन् । माछापुच्छ«े बैंकको नाफा ५२ करोड १३ लाख र एनआईसी एसिया बैंकको नाफा ४९ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार समग्रमा वाणिज्य बैंकहरूको खुद मुनाफा बढेपनि सातवटा बैंकहरूको भने गत आवको सोही अवधिको तुलनामा खुद मुनाफा घटेको छ । जसमध्ये सिटिजन्स बैंकको खुद मुनाफा १४ दशमलव ९९ प्रतिशतले घटेर ४७ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ । यसैगरी नेपाल बैंकको नाफा १२ दशमलव ४५ प्रतिशतले घटेर ७३ करोड ७९ लाख रुपैयाँमा झरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद मुनाफा पनि १० प्रतिशतले घटेर ४७ करोड ९० लाख रुपैयाँमा खुम्चिएको छ भने लक्ष्मी सनराइज बैंकको नाफा आठ दशमलव ३६ प्रतिशतले घटेर ८९ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ ।
यसैगरी कृषि विकास बैंकको नाफा छ दशमलव ३३ प्रतिशतले घटेर ५५ करोड ३५ लाख रुपैयाँ र कुमारी बैंकको नाफा चार दशमलव शून्य एक प्रतिशतले घटेर एक अर्ब एक करोड ४४ लाख रुपैयाँमा झरेको छ । सिद्धार्थ बैंकको नाफा पनि शुन्य दशमलव ९९ प्रतिशतले घटेर ८४ करोड पाँच लाख रुपैयाँ रुपैयाँमा खुम्चिएको राष्ट्र बैंकको भनाइ छ ।