काठमाडौं, बेल्जियममा वर्षौंदेखि बस्दै आएका विष्णु ढुंगाना (अजित) ले आफ्नी आमाको उपचारका क्रममा भोगेको झन्झटलाई अवसरमा बदल्दै नेपालमा डिजिटल स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित ‘सुनिमेड एप’ तयार पारेका छन् । अस्पतालका लामा लाइन, कागजी रिपोर्टका भारी फाइल र झन्झटिलो प्रक्रियालाई प्रविधिमार्फत सहज बनाउने लक्ष्यका साथ उनले टेलिमेडिसिन सेवाको अवधारणा अघि सारेका हुन् । हाल एप सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको ढुंगानाले बताएका छन् ।
नेपालको स्वास्थ्य सेवा प्रणालीमा प्रविधिको प्रयोग बढ्दै गए पनि बिरामीले सामान्य स्वास्थ्य परीक्षणदेखि विशेषज्ञ चिकित्सकको परामर्शसम्म विभिन्न कठिनाइ भोग्नुपरेको छ । अस्पतालमा नाम दर्ता, टिकट काट्ने, परीक्षण गराउने र चिकित्सकलाई भेट्न छुट्टाछुट्टै लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै छ । विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी तथा नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने बिरामीका लागि यस्तो प्रक्रिया थप कष्टकर बन्ने गरेको छ ।
ढुंगानाले पनि आफ्नी आमा (सुनिता) लाई नियमित उपचारका लागि अस्पताल लैजाँदा यस्तै समस्या भोग्नुपर्यो । एक्सरे, एमआरआई, रगत परीक्षण, सुगर परीक्षणलगायतका स्वास्थ्य रिपोर्टका दर्जनौं फाइल बोकेर अस्पताल जानुपर्ने र आवश्यक परेको बेला पुराना कागजात खोज्नुपर्ने अवस्था थियो । अस्पताल पुगेपछि नाम दर्तादेखि कार्ड बनाउने, परीक्षण गराउने र चिकित्सकलाई भेट्ने प्रक्रियामा घण्टौं बिताउनुपर्ने बाध्यताले उनलाई स्वास्थ्य सेवा प्रणालीमा सुधारको आवश्यकता महसुस गरायो ।
विगत १५ वर्षदेखि बेल्जियममा बस्दै आएका ढुंगानाले त्यहाँको डिजिटल स्वास्थ्य सेवा प्रणालीलाई नजिकबाट अनुभव गरेका छन् । स्वास्थ्यसम्बन्धी विवरण, परीक्षण रिपोर्ट तथा उपचारको इतिहास डिजिटल माध्यममा सुरक्षित राख्ने व्यवस्था हुँदा बिरामीले हरेक पटक अस्पताल जाँदा पुराना कागजातका भारी फाइल बोकेर हिँड्नुपर्ने अवस्था हुँदैन । चिकित्सकसँगको भेटघाट तथा स्वास्थ्य परीक्षणका विभिन्न प्रक्रिया पनि प्रविधिको प्रयोगबाट व्यवस्थित गर्न सकिने उनको अनुभव छ ।
बेल्जियममा देखेको स्वास्थ्य सेवाको सहजता र नेपालमा आमाको उपचारका क्रममा भोगेको कठिनाइबीचको अन्तरले उनलाई एउटा नयाँ सोच दियो । विदेशमा सम्भव भएको डिजिटल स्वास्थ्य सेवा नेपालमा पनि सुरु गर्न सकिन्छ भन्ने विश्वासका साथ उनले आफ्नी आमा सुनिताको नामबाट सुनिमेड एप निर्माणको काम अघि बढाए ।
आफ्नी आमाको नामबाट नामकरण गरिएको सुनिमेड एप अस्पताल, चिकित्सक र बिरामीलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यले तयार पारिएको हो । एप प्रयोग गर्न चाहनेले मोबाइलमा डाउनलोड गरी सेवा लिन सक्नेछन् । यसलाई सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले निःशुल्क उपलब्ध गराउने अवधारणा रहेको ढुंगाना बताउँछन् ।
स्वास्थ्य इतिहास एउटै प्लेटफर्ममा
सुनिमेड एपको प्रमुख विशेषता बिरामीको सम्पूर्ण स्वास्थ्य इतिहासलाई एउटै डिजिटल प्लेटफर्ममा सुरक्षित र व्यवस्थित राख्ने अवधारणा हो । यसमा बिरामीले विगतमा कुन अस्पतालमा उपचार गराएको, कुन चिकित्सकसँग परामर्श लिएको, के–कस्ता परीक्षण गरेको तथा कुन औषधि प्रयोग गरेको भन्ने विवरण राख्न सक्नेछन् ।
यसले एउटा अस्पतालबाट अर्को अस्पतालमा उपचारका लागि जाँदा पुराना एक्सरे, एमआरआई, रगत परीक्षणलगायतका रिपोर्टका फाइल बोकेर हिँड्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ । आवश्यक परेको समयमा बिरामीको स्वास्थ्य इतिहास डिजिटल माध्यमबाट हेर्न सकिने भएकाले चिकित्सकलाई पनि उपचारसम्बन्धी विगतका विवरण बुझ्न सहज हुने उनको विश्वास छ ।
त्यसैगरी, अस्पतालमा चिकित्सकसँगको अपोइन्टमेन्ट अर्थात् भेटघाटको समय व्यवस्थापन पनि एपमार्फत गर्न सकिने परिकल्पना गरिएको छ । यसबाट अस्पताल पुगेर टिकट र पालोका लागि लामो समय कुर्नुपर्ने अवस्थालाई कम गर्न सहयोग पुग्ने अपेक्षा छ ।
विदेशमा रहेका सन्तानलाई अभिभावकको स्वास्थ्यबारे जानकारी
सुनिमेड एप विदेशमा रहेका नेपालीका लागि पनि उपयोगी बन्न सक्ने ढुंगानाको विश्वास छ । रोजगारी, अध्ययन तथा विभिन्न पेसाका कारण विदेशमा रहेका हजारौं नेपालीका आमाबुबा नेपालमै बसोबास गरिरहेका छन् । टाढा रहेका कारण उनीहरूलाई आफ्ना अभिभावकको स्वास्थ्य अवस्था, नियमित औषधि सेवन र उपचारसम्बन्धी जानकारी लिन सहज हुँदैन ।
एपमा औषधिको नाम, मात्रा, सेवन गर्ने समय तथा चिकित्सकले दिएको निर्देशनजस्ता विवरण व्यवस्थित राख्न सकिने अवधारणा छ । औषधि सेवनको समय सम्झाउने र चिकित्सकसँगको भेटघाट व्यवस्थापन गर्ने सुविधाले विशेषगरी एक्लै बस्ने ज्येष्ठ नागरिकलाई सहयोग पुग्न सक्छ । साथै, विदेशमा रहेका सन्तानले पनि परिवारका सदस्यको स्वास्थ्यसम्बन्धी विवरणमा पहुँच पाउन सक्ने व्यवस्था यसको अर्को सम्भावित उपयोगिता हो ।
स्वास्थ्य सेवामा डिजिटल रूपान्तरणको अपेक्षा
नेपालमा स्वास्थ्य सेवा विस्तार हुँदै गए पनि बिरामीको स्वास्थ्य विवरण व्यवस्थापन, अस्पतालबीच सूचना आदानप्रदान र विशेषज्ञ चिकित्सकसँगको पहुँच अझै चुनौतीपूर्ण छन् । एउटै बिरामीले फरक–फरक अस्पतालमा उपचार गराउँदा आफ्नो स्वास्थ्य इतिहास पुनः बुझाउनुपर्ने र पुराना रिपोर्ट आफैं व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।
यस्तो अवस्थामा सुनिमेडजस्ता डिजिटल पहलले स्वास्थ्य सेवा प्रवाहलाई सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउन सक्ने सम्भावना बोकेका छन् । विशेषगरी दीर्घरोगी, ज्येष्ठ नागरिक, नियमित औषधि सेवन गर्ने व्यक्ति तथा भौगोलिक रूपमा टाढा रहेका बिरामीका लागि यस्ता सेवा उपयोगी हुन सक्छन् ।
ढुंगानाका लागि सुनिमेड केवल एउटा मोबाइल एप निर्माण गर्ने व्यावसायिक प्रयास मात्र होइन । आफ्नै आमाको उपचारका क्रममा भोगेको पीडालाई अरू बिरामीले पनि भोग्न नपरोस् भन्ने सोचबाट सुरु भएको पहल हो । व्यक्तिगत समस्याबाट जन्मिएको यो प्रयासले नेपालको स्वास्थ्य सेवा प्रणालीमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्न कस्तो योगदान पु¥याउँछ भन्ने कुरा भने यसको सञ्चालन, सेवा विस्तार र प्रभावकारी कार्यान्वयनले निर्धारण गर्नेछ ।