काठमाडौं, विपद्को समयमा निजी क्षेत्रको स्रोत परिचालन गर्न संस्थागत संयन्त्र बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)को बीसौं वार्षिक साधारणसभामा सहभागीहरुले विपद्का बेला निजी क्षेत्रसँग उपलब्ध यातायात, गोदाम, ढुवानी सञ्जाल तथा तत्काल परिचालन गर्न सकिने वित्तीय स्रोतलाई राज्यको संयन्त्रसँग जोड्ने स्थायी संरचना आवश्यक रहेको बताएका हुन् । उनीहरुले पछिल्ला बाढी–पहिरो, हिमताल विष्फोटलगायतका घटनाबाट पाठ सिक्दै विपद् व्यवस्थापनमा निजी क्षेत्रको भूमिकालाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
विपद्का बेला निजी क्षेत्रसँग रहेका स्रोतसाधन तत्काल परिचालन गर्न सकिने भए पनि त्यसलाई सरकारी संयन्त्रसँग जोड्ने स्पष्ट संस्थागत व्यवस्था नरहेको उनीहरुको भनाइ छ । सहभागीहरूले सरकार, दातृ निकाय, सामुदायिक संस्था र निजी क्षेत्रबीच पूर्वतयारी तथा समन्वयको संयन्त्र विकास गर्नुपर्ने बताए । साधारणसभाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा राष्ट्रिय व्यवसायिक पहललाई सक्षम र भरपर्दो निजी क्षेत्रको निकायका रूपमा विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । यससम्बन्धी थप ठोस काम अघि बढाउने जिम्मेवारी कार्यसमितिलाई दिने सहमति समेत भएको छ ।
सभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष कुशकुमार जोशीले मुलुक राजनीतिक संक्रमणसँगै बारम्बार दोहोरिने प्राकृतिक विपद्को चुनौतीमा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा निजी क्षेत्र थप जिम्मेवार र तयारी अवस्थामा रहनुपर्ने बताए । सभाको दोस्रो सत्रमा महासचिव सुरेन्द्र वीर मालाकारले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सरोजप्रसाद पाण्डेले वार्षिक आय–व्यय तथा वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सभाबाट सर्वसम्मतिले पारित भएका छन् ।