‘अन्तर्य’ को तात्पर्य महाभारत कथाका रचनाकार ऋषि वेदव्यासले बडो सुन्दर परिभाषा बताउनु भएको छ । सर्वसाधारण आम मनुष्य जाति र खासगरी देशसेवा समाजसेवा राजनीति गर्छु भन्नेहरूलाई त्यतिखेरसम्म दूरदृष्टी अगाडि बाटोको उज्यालो उपलब्ध हुन्न जतिखेरसम्म उसको अन्तर्य आस्था निष्ठा चोखो पवित्र हुन्न ।
वेदव्यासको दूरदृष्टीको यो परिभाषा आजको मितिको हाम्रो राजनीतिक नेतृत्व गिरिजा, प्रचण्ड, ओली, देउवा, रामचन्द्र आदि इत्यादिमा अक्षरसः चरितार्थ भएको दैलो अगाडिको खाल्डो नदेखेर ७ पुस्ता श्रापित अभिषप्त (कलंकीत) हुने गरी त्यस खाल्डोमा जाकिएका दशी, साक्षी, पुष्टी, प्रमाणित पाठ्यक्रम आम नेपाली जनका हातहातका मोबाइलमा (गुगल) छर्लङ्ग अभिलेख छँदै छ । गिरिजाको टनकपुर (महाकाली सन्धि) राष्ट्रघात लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतको नक्साभित्र, प्रचण्डका २४ भाद्र ०८२ घर जल्दा नेरू, भारू, डलर नोटका गोदाम र स्वीमिङ पुलको अवशेष भेटिएको (स्वीमिङ पुल पाँचतारे होटल या राजा महाराजाहरूका घरमा मात्र भेटिन्छ, सर्वहाराको नेताको घरमा असम्भव) खड्ग ओलीको रेल ल्याउने, पानीजहाज चलाउने, सहरबासीका घर घरमा ग्यासका पाइपलाइन पु¥याउने, जनता सबै घाँस खाने भात खाने उनी मात्रै भन्ने अन्तर्य खोटो समझ, देउवा दम्पत्तिले घर पनि, नोटको गोदाम पनि खरानी भएर धोबीचुटाइ पनि खाएका (५ पटक प्रधानमन्त्री) अन्तर्य चोखो पवित्र नभएरै दूरदृष्टी नहुँदा दैलो अगाडिकै खाल्डो नदेखेर जाकिएका वेदव्यासको परिभाषा कालजयी पुष्टी र प्रमाणित हुन्छ ।
आवरणको तात्पर्य असली चेहरा सोच, समझ, नियत लुकाएर ढाकछोप गरेर लाखेनाचको ‘मुखुण्डो’ जस्तो बाहिर अर्कै देखाइएको हो ।
‘गगन थापा : अन्तर्य र आवरण’ प्रस्तुत अभिलेखको शीर्षकबाट आएका यी विवरणहरूको अन्तर्य र आवरणमा मेरो कुनै आग्रह पूर्वाग्रह केही नभएर मात्र जेनजी, जेन अल्फा या त्यसपछि आउने पुस्ताका लागि सत्य तथ्य पाठ्यक्रम उपलब्ध रहोस् भन्ने हो ।
विसं. २०२५ साल जननायक विश्वेश्वरप्रसाद कोइराला जेलबाट छुट्नु भएका दिन घटनाक्रमले कांग्रेस भएर १९ वर्षको उमेरमा फाँसी या जन्मकैद हुने राजकाज मुद्दा ७ वर्ष जेलको कालकोठरी झेलेर जनमत सङ्ग्रहको आम माफीबाट बाहिर आएर आज पर्यन्त लगातार ५८ वर्ष एक क्षण र एक निमेष पनि यताउति नभइ गिरिजा उताको सुवर्ण, बीपी, गणेशमान, भट्टराइ कांग्रेस जोगाउन अहोरात्र सङ्घर्षरत ७० नाघेको प्रदीप गिरिले ‘जिउँदो सहिद’ सम्बोधन गर्ने गरेका मैले कांग्रेसमा पछि जन्मेर हुर्केका पूर्णबहादुर खड्का, गगन थापा, चन्द्र भण्डारी, शशांक कोइराला, शेखर कोइराला, गुरु घिमिरे जस्ता कांग्रेसीहरूका बारेमा आग्रह पूर्वाग्रह राखेर पाठ्यक्रम अभिलेख गरिदिनु भनेको मेरो अर्थमा अन्याय पाप हुन जान्छ । ‘पाप’ को ‘श्राप’ र ‘धर्म’ को ‘आशीर्वाद’ अनिवार्य भन्ने गीतावचन छ । ‘विवेकहीन पशुभिः समान’ पनि गीतावचन नै हो । गिरिजा उताको (०५१ को मध्यावधि) पूर्वाञ्चल कांग्रेसमा महिला नेतृमा शैलजा आचार्यकी प्रतिस्पर्धी दुर्गा पोख्रेल (श्री ५ ज्ञानेन्द्रकी मन्त्री) ले जेलभित्रको मेरो तस्वीर एम्नेस्टी इन्टरनेसनलको जर्नलमा प्रकाशित गरिदिएका कारण एउटै मुद्दा दफाका नक्खुको ओरालोमा मारिएका चार सहिदमा पाँचौ हुन नपाएकोलाई नै प्रदीप गिरिले ‘जिउँदो सहिद’ सम्बोधन गर्ने गर्नुभएको थियो ।
मानिस जातीको शायद प्राकृतिक स्वभाव (पशुपक्षीमा पनि देखिन्छ) हो कि आफ्ना अगाडि जन्मेको, हुर्केको चलेको खेलेको बालक लक्का जवान भएर फापेको देख्दा भेट्दा एक प्रकारले स्नेह सुखको भावना जागृत हुँदो रहेछ । गगन थापाप्रति मेरो यस्तै खालको भावना हो । महिना गते साल खोज्ने झन्झट गरिन मेरो २५ वर्ष पत्रकारिता चरणको एउटा समय (ज्ञानेन्द्रको २१ माघ ०६३ को कदम आउनु अघिको) ४ वर्ष राजधानी दैनिकको वरिष्ठ सम्पादकका रूपमा जागिरे पत्रिकाको विचार ब्लग हेर्दथ्येँ । हालका ‘नयाँ पत्रिका’ दैनिकका अध्यक्ष प्रवन्ध निर्देशक तथा प्रधान सम्पादक कृष्णज्वाला देवकोटा मेरो सहयोगी सम्पादकका रूपमा जागिरे थिए ।
चितवनको एक अनाथ बालक एक्लो सङ्घर्षबाट स्नातकोत्तर अध्ययनशील ज्वालालाई नयाँ प्रतिभा हुर्कदँै गरेको रूपमा माया र भरोषा गर्दथ्येँ । यसैमा एक दिन हामीले पत्रिकामा उदयमान युवा नेतृत्वको विचारलाई पनि ठाउँ दिनुपर्छ भन्दै आफ्नो लेख छपाउन आएका गगन थापासँग परिचय गरायौँ । ज्वालाले हेरेर ओके गरिसकेपछि मैले हेर्दै नहेरी टाइपमा दिएँ । नेविसंघको एउटा उदयमान प्रखर नेतृत्व भेट्दा मेरो इतिहासको चित्तमा एउटा स्नेह सुख भावना जागृत हुन स्वाभाविक थियो । गगनका लेखमा पाठकप्रति क्रिया पनि आएको पाएर छापीसकिएको मैले पनि पढेँ । ‘इस्ट इन्डिया कम्पनी’ को ठाउँमा अक्षरसः ‘बहुराष्ट्रिय कम्पनी’ को साङ्लोमा जकडिएको शिक्षा पद्धतिबाट हुर्केको गगन थापामा बीपीको समाजवाद (कांग्रेस विचारधारा) प्रतिको समझ अन्तर्य अपेक्षा राख्नु आफ्नै मुर्खता हुन्थ्यो । आफ्ना विचार राख्ने प्रस्तुतिमा उनी आम विद्यार्थी नेताभन्दा अब्बल थिए । त्यही अब्बलता भेटेर नै मेरो उनीप्रतिको आकर्षण विजारोपण भएको थियो ।
राजनीतिक घटनाक्रममा समय गएको पत्तै हुन्न । पोखरामा आयोजित नेविसंघको महाधिवेशनमा गिरिजा देउवाको (विदेशी दूतावास कनेक्सन) आशीर्वाद (रिक्रुट) बेगर गगन थापा अध्यक्षमा निर्वाचित हुने पक्का देखिएपछि गिरिजा लिगेसीको कांग्रेस नेतृत्वका लागि स्वतन्त्र युवा नेतृत्व हुर्कने खतरा भयो । परिणाम पोखराको महाधिवेशन देउवा आफैँ संलग्न भएर (देउवा शायद प्रधानमन्त्री थिए) भाँडीयो । गुण्डागर्दीको ताण्डव नृत्य मच्चाएर गगनलाई अध्यक्ष हुनबाट वञ्चित तुल्याइयो । छ महिनापछि चितवनमा महाधिवेशन हुने भयो र फेरि गगन थापाले उम्मेदवारी दिने भए । यस पटक पनि उनी भिड्छन् कि आत्मसमर्पण गर्छन् (बिक्छन्) ? मनमा खुलदुली हुनु उनीप्रतिको स्नेहभाव थियो ।
१४ वर्षको उमेरदेखि नेविसंघ बाँके (नेपालगञ्ज) को नेतृत्व भएर हुर्केका कांग्रेस लिगेसीका इन्जिनियर (इन्जिनियर एसोसिएसनका अध्यक्ष) आयल निगमका महाप्रबन्धक भएर (नोना कोइरालाको कोटा) भ्रष्टाचार मुद्दा पनि खेपिरहेका युवराज शर्माको मसँग राम्रो परिचय थियो । आफ्नै कार चलाएर हिँड्ने साधन श्रोत सम्पन्न । उनैलाई लिएर रातारात चितवन पुगेर अवलोकनमा जुट्यौँ । गगनले जित्ने लगभग निश्चित थियो । कांग्रेस नेतृत्वको दासत्व (रिक्रुट) बाट मुक्त स्वतन्त्र युवा नेतृत्व हुर्किनु मेरो दृष्टिमा राष्ट्रिय राजनीतिकै लागि एउटा उपलब्धी हुन्थ्यो । सम्मेलनको निर्वाचन हुने दिन एकाएक तुफान शैलीमा गिरिजापुत्री सुजाता कोइराला (गिरिजाको मूल्यमा गणेशमान, भट्टराइ लखेटिए जस्तै जसको मूल्यमा शैलजा आचार्य लखेटिएकी थिइन्) आइन् र ५० लाख जति विद्यार्थी नेताहरूले खाएका होटलका जाँड पानी बिल तिरिदिएर गगनलाई समानुपातिक ल्याएर राष्ट्रिय नेता बनाउने सर्तमा प्रदीप पौडेलका लागि उम्मेदवारी छोडिदिन प्रस्ताव गरिन् । सुजाता पछि कृष्ण सिटौलाका रिक्रुट प्रदीप पौडेल नेविसंघको नयाँ अध्यक्ष घोषित भयो ।
यसरी गगन बेचिएको (दास मानसिकता) प्रत्यक्ष देखेर निराश हुँदै काठमाडौँ फर्कियौँ । गगनको अन्तर्य दुषित र घिनलाग्दो भएको प्रत्यक्ष देखी भेटिसकेपछि उनीप्रति चासो र उत्सुकताको अब कुनै अर्थ थिएन । यस्तैमा एक दिन युवराज र म उनको घरमा दिमागी भेन्टीलेसन चुस्कीमा रमाइ रहेका थियौँ, कुनै पूर्व सूचना बेगर गगन र दुर्गा सुवेदीलाई साथमा लिएर प्रदीप गिरि आइपुग्नुभयो । दुर्गा सुवेदीलाई त ‘रअ’ को निर्देशन र सहयोग (गिरिजाको आत्मवृत्तान्तबाट खुलासा) मा प्लेन हाइज्याकिङ (अपहरण) को थोत्रो जकेट देखाएर धन्दा चलाइरहेको टेढो आँखाले पनि भाउ दिन्न थिएँ । प्रदीप गिरिलाई मेरा अगाडि एउटा मर्यादा कायम राख्नु आवश्यक हुन्थ्यो । ‘रेवतीजीको इतिहास तिमीलाई जान्नु आवश्यक छ’ भन्दै गगनलाई हामीसँग छोडेर एकछिन भलाकुसारी पछि दुर्गा सुवेदीलाई लिएर प्रदीपजी निस्कनु भयो । बिचरा सुजाता सँग बिक्री भइसकेको गगन थापालाई मेरो इतिहासमा चासो हुनु कुनै अर्थ थिएन । त्यो कुरो बुझेर आफैँले नै जानीजानी अघोरी शैली अपनाएर १० मिनेट बढी टिक्न नसक्ने वातावरण सिर्जना गरेर गगनलाई बिदा गर्यौँ ।
गगन गइसकेपछि थकथक गर्दै युवराजले भने, ‘हाम्रो एउटा होनहार युवा नेतृत्वले भारतीय दुतावासबाट नेपाललाई भुटान हुँदै सिक्किम पुर्याउने जागिर पाएछ । नेपालको दुर्भाग्य ।’ त्यसपछि २० वर्ष सांसद भएको, मन्त्री पनि भएको, कांग्रेसको महामन्त्री भएर आम निर्वाचनका बखत ‘रुख’ चुनाव चिन्हमा भोट माग्नुको साटो ‘रअ’ परिचालित प्रचण्ड बाबुरामको पार्टी माओवादीको चुनाव चिन्ह ‘हसिया हथौडा’ मा भोट माग्दै हिँडेको आफ्नै अगाडि सर्वाङ्ग नाङ्गिएको भेटिए पनि अभिभावकीय भावना साँचेर कलम उठाउन जाँगर गरेको थिइँन । गगन मात्र होइन उनी माथिका सबै दलीय नेतृत्व देश बेचेर, जनता लुटेर जसरी भए पनि सत्तामा पुगेर मोजमस्ती गर्नु नै राजनीति हो भन्ने चरितार्थ गरिरहेकोमा एउटा गगन माथि कलम चलाउनुको अर्थ पनि थिएन । तर अब उनी कांग्रेस पार्टी फुटाउने परचक्री अभिष्टका औजार भएर ठूलो तामझामका साथ नेपाली कांग्रेस एक चिराका सभापति निर्वाचित भइसकेपछि व्यक्ति गगन थापा मात्र रहेनन् । गिरिजा देउवाकै सोच, समझ, नियत, प्रवृत्ति, चरित्रकै प्रतिक भएका हुनाले उनी बारेका तथ्य सत्य पाठ्यक्रम भावी पुस्ताका लागि अभिलेख रहनु आवश्यक भएको हो ।
अन्त्यमा यति खेर अमेरिकाले ‘रअ’ (गणतन्त्र) का रिक्रुटलाई छानीछानी तलब बढाएर भर्ना लिने नीति अन्तर्गत गगन थापा ‘अमेरिकी सेनाका कन्ट्याक्ट पर्सन’ मा भर्ना भएर काम गरिरहेका सम्पूर्ण दर्शी, प्रमाण, साक्षी, डकुमेन्ट गुगलमा एउटा बटन थिच्दा हातहातका मोबाइलमा छर्लङ्ग उपलब्ध छ । पछिल्लो उनको केन्द्रीय समितिको जम्बो भीड र समानुपातिक कोटाको प्रतिनिधित्वमा कर छली राष्ट्रिय सम्पत्ति लुट शिरोमणि अन्तर्राष्ट्रिय स्तरको खर्बपति विनोद चौधरी छनोटबाटै परिणाम छर्लङ्ग आँकलन हुन्छ । बाँकी कुरा यथासमय यथास्थान गर्दै गरौँला । अस्तु ।