काठमाडौं, कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा ग्लोबल आईएमई बैंक र ओविफर्ट स्पोर्टिङ पार्टनरका रूपमा जोडिएका छन् ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले सामाजिक सञ्जालमार्फत दुवै संस्थालाई प्रदर्शनीमा सहकार्य गरेकोमा धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । नामियाले ग्लोबल आईएमई बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै कृषि क्षेत्रको विकास, आधुनिकीकरण तथा उन्नत प्रविधिसहित जैविक मलको प्रवर्द्धनमा ओविफर्टले पुर्याउँदै आएको योगदानको समेत प्रशंसा गरेको छ । ‘कृषिमा यन्त्र र प्रविधि ः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
नामियाका अध्यक्ष कृष्ण शर्माका अनुसार प्रदर्शनीको तयारी तीव्र रूपमा भइरहेको छ । प्रदर्शनीमा करिब ७० प्रदर्शकको सहभागिता रहनेछ भने एक सय ५० भन्दा बढी स्टलमार्फत आधुनिक कृषि यन्त्र तथा प्रविधि प्रदर्शन गरिनेछ । स्वदेशी कृषि यन्त्र तथा उपकरण उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको छ । प्रदर्शनीमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, बाली भित्र्याएपछिको व्यवस्थापन, कृषि उपज प्रशोधन तथा बजारीकरण, शीतभण्डार, प्राङ्गारिक तथा जैविक मल, थोपा सिँचाइ, नर्सरी र बीउबिजनसँग सम्बन्धित आधुनिक यन्त्र, उपकरण तथा प्रविधि राखिनेछन् । स्वदेशी तथा विदेशी बीउबिजन उत्पादक, कृषि सामग्री बिक्रेता र कृषि तथा पशुपन्छीसम्बन्धी सेवा प्रदायक संस्थाको समेत सहभागिता रहनेछ ।
प्रदर्शनीले किसान, कृषि उद्यमी, व्यवसायी, सहकारी, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, सरकारी तथा गैरसरकारी संस्था र नीतिनिर्मातालाई कृषि यान्त्रीकरणसम्बन्धी नवीनतम प्रविधि प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । यसबाट कृषि क्षेत्रमा उपलब्ध आधुनिक उपकरण तथा प्रविधिबारे जानकारी लिनुका साथै तिनको प्रयोग र व्यावसायिक सम्भावनाबारे बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीको आयोजना कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले संयुक्त रूपमा गर्नेछन् । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) सहआयोजक रहेका छन् भने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रवद्र्धकका रूपमा रहेको छ ।
प्रदर्शनीको मुख्य प्रायोजक एसकेटी नेपाल प्रालि रहेको छ । युरोपेली संघ (ईयू) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त आर्थिक सहयोगमा जर्मन विकास सहयोग संस्था (जीआईजेड) द्वारा सञ्चालित ग्रेप–२ परियोजना एसोसिएट पार्टनरका रूपमा आबद्ध छ । त्यसैगरी, प्लाटिनम प्रायोजकमा जी–सेभेन एग्रिकल्चर प्रालि, शालोम एग्रिकल्चर प्रालि, नेपाल ट्रेड होस्ट प्रालि र बीडी कमर्सियल इक्विपमेन्ट प्रालि रहेका छन् । गोल्ड प्रायोजकमा पशुपति एग्रो ट्रेडर्स, विन्ध्यवासिनी कृषि कम्पनी प्रालि र जैन इरिगेसन सिस्टम्स लिमिटेड रहेका छन् ।
प्रदर्शनीलाई राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, सिमिट नेपाल, कृषि विकास बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल कृषि इन्जिनियर्स सोसाइटी, नख्खु सिड्स प्रालि र हेल्भेटास नेपालले सहयोग गरेका छन् । कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकीकरण, औद्योगिकीकरण, आधुनिकीकरण र व्यावसायिकीकरणतर्फ अघि बढाउन आवश्यक प्रविधि तथा उपकरणको पहुँच विस्तार गर्ने प्रदर्शनीको मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ । आयोजकले प्रदर्शनीमा ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ ।