काठमाडौं, गो हेलि नेपालले हेलिकोप्टर बुकिङ तथा समन्वय सेवा सञ्चालनमा ल्याएको छ । नेपालमा हेलिकोप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र उडान व्यवस्थापन गर्ने प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याइएको हो ।
काठमाडौंमा आधारित उक्त सेवाले हिमाली दृश्यावलोकन उडान, निजी चार्टर, एक गन्तव्यबाट अर्को गन्तव्यसम्मको उडान, मेडिकल फ्लाइट तथा आपत्कालीन उद्धार समन्वयका लागि एउटै सम्पर्क माध्यम उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार यात्रु, ट्रेकिङ कम्पनी, टुर अपरेटर तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूले वेबसाइट, फोन, ह्वाट्सएप र इमेलमार्फत सम्पर्क गरी आफ्नो आवश्यकता, गन्तव्य र उडान मितिअनुसार हेलिकप्टर सेवाबारे जानकारी तथा मूल्य प्रस्ताव माग गर्न सक्नेछन् । सेवामा उपलब्धताअनुसार साझा सिट बुकिङ, खाली फर्कने हेलिकोप्टर उडान (एम्प्टी लेग), हवाई छायांकन, सामान ढुवानी तथा विशेष कार्यक्रमका लागि हेलिकोप्टर व्यवस्थापनसम्बन्धी अनुरोध पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
नेपालका दुर्गम तथा हिमाली क्षेत्रमा सडक यातायातको पहुँच सीमित हुँदा हेलिकप्टर सेवा यातायात र आकस्मिक उद्धारको विकल्पका रूपमा प्रयोग हुँदै आएको छ । विशेषगरी मेडिकल ट्रान्सपोर्ट र आपत्कालीन उद्धारका क्रममा स्थान, मौसम, हेलिकोप्टर उपलब्धता तथा उड्डयनसम्बन्धी स्वीकृतिले उडान सञ्चालनमा प्रभाव पार्ने गरेको छ । गो हेलि नेपालले मेडिकल फ्लाइट तथा उद्धारसम्बन्धी अनुरोधमा आवश्यक समन्वय गर्ने जनाएको छ । यस्ता सेवाको उपलब्धता बिरामीको अवस्था, उद्धारस्थल, मौसम, विमानको उपलब्धता र सम्बन्धित निकायको अनुमतिमा निर्भर रहनेछ । कम्पनीले ग्राहकबाट प्राप्त जिज्ञासा तथा अनुरोधमा चार घण्टाभित्र प्रतिक्रिया दिने लक्ष्य राखेको छ । हेलिकोप्टर बुकिङका क्रममा गन्तव्य, यात्रु संख्या, सामानको तौल, उडान समय, मूल्य, भुक्तानी प्रक्रिया तथा मौसमका कारण हुन सक्ने परिवर्तनबारे ग्राहकलाई जानकारी गराउने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।
गो हेलि नेपालले व्यक्तिगत यात्रुका अतिरिक्त ट्रेकिङ कम्पनी, टुर अपरेटर तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीलाई पनि लक्षित गरेको छ । कम्पनीले विभिन्न हेलिकप्टर सेवा प्रदायकसँग समन्वय गरी ग्राहकको आवश्यकताअनुसार उडान विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ ।