काठमाडौं, फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कात्तिक १२ गतेबाट सुरु भएको मेलाको चौथो दिनसम्ममा ९९ लाख ९० हजार रुपैयाँबराबरको कारोबार भएको हो । यस्तै मेलामा ३१ हजार बढीले अवलोकन गरेका छन् ।
प्रदर्शनीको प्रारम्भिक दिन अपेक्षाभन्दा राम्रो कारोबार भए पनि मौसममा आएको प्रतिकूलताका कारण शुक्रबार र शनिबार भएको अविरल वर्षाले प्रदर्शनी प्रभावित भएको थियो । लगातारको वर्षाका कारण मेला स्थल बन्द गर्नुपर्ने अवस्था सिर्जना भएपछि अपेक्षाकृत रुपमा सहभागिता नभएको आयोजकले जनाएको छ । सोही कारण आयोजकले मेला अवधि दुई दिन थप गरेको छ ।
मेलाको पाँचौँ दिन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवनी राणाले मेला अवलोकन गरी विभिन्न प्रकारका फूल बिरुवाहरु खरिद गरेकी थिइन् । प्रदर्शनीको अवधि थप भएसँगै अब कात्तिक १८ गते बुधबारसम्म जावलाखेलस्थित प्रदर्शनी स्थलमा पुगेर विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्रीको अवलोकन र खरिद गर्न सकिने एशोसिएसनले जनाएको छ ।