काठमाडौं, नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिईएको हो । भेटमा अध्यक्ष अग्रवालले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै लामो समयदेखिको सम्बन्धलाई अब व्यावहारिक आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए ।
सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता र सन् १९८३ मा संयुक्त आर्थिक आयोग स्थापना भएपनि अपेक्षाअनुसार व्यापारिक गतिविधि विस्तार हुन नसकेको उनको भनाइ थियो । उनले औपचारिक सम्झौता र कूटनीतिक संवादमा मात्र सीमित नभई दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क (बीटुबी), बजार पहुँच, संयुक्त लगानी र व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए ।
अग्रवालले नेपाली चिया, ठूलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औँल्याए । नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, प्रमाणीकरण र नियमित आपूर्ति सुनिश्चित गर्न सके पाकिस्तानी बजारमा राम्रो सम्भावना रहेको उनले बताए ।
त्यसैगरी पाकिस्तानको औषधि उत्पादन तथा कपडा उद्योगसम्बन्धी अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै औषधि, स्वास्थ्य उपकरण, स्वास्थ्य सेवा, प्राविधिक तालिम, अनुसन्धान तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न उनको भनाइ थियो । उनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सेवा, स्टार्ट–अप, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई नेपाल–पाकिस्तान आर्थिक सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरे । विशेषगरी सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरीले ठूलो अवरोध सिर्जना नगर्ने भएकाले यी क्षेत्रमा तत्काल सहकार्य अघि बढाउन सकिने उनको भनाइ थियो ।
राजदूत खानले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले विशेष महत्व दिएको उल्लेख गर्दै दुवै देशबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए । नेपालसँग आर्थिक सम्बन्ध पुनः जोड्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकता रहेको उनको भनाइ थियो । उनले नेपाल र पाकिस्तान दुवै देशमा युवा जनशक्तिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यमा जोड्नुपर्ने बताए । बदलिँदो विश्व अर्थतन्त्रमा भौगोलिक दूरीभन्दा आर्थिक कूटनीति, डिजिटल प्रविधि र प्रभावकारी सम्पर्क सञ्जाल महत्वपूर्ण हुने उनको धारणा थियो । उक्त भेटमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रालगायतको उपस्थिति रहेको थियो ।