काठमाडौं, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्को समयमा नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्ने बताएका छन् । सोमबार आयोजित कर्मचारी सम्मान कार्यक्रममा उनले विपद् जुनसुकै बेला पनि आउन सक्ने उल्लेख गर्दे दूरसञ्चार सेवालाई तयारी अवस्थामा राख्नुपर्ने बताए ।
उनले भोटेकोशी बाढीपछि सबै सरोकार भएका संघसंस्थाबीचको सहकार्य र समन्वयमा बाढी प्रभावित क्षेत्रमा छिटो दूरसञ्चार सेवा सञ्चालन गर्न सकिएको बताए । ‘विपद्का बेला टेलिकमका कर्मचारीले तोकिएभन्दा बढी काम गरेका छन्, जसका कारण बाढी प्रभावित क्षेत्रमा छिटो दूरसञ्चार सेवा दिन सकियो’, उनले भने । ऊर्जा मन्त्रालयले पनि युद्धस्तरमा काम गरेर ऊर्जाका संरचना बनाएर सहयोग गरेकाले दूरसञ्चार सेवा पुनः सुरु गर्न सजिलो भएको उनको भनाई थियो । उनले प्रविधिले फड्को मारेको अहिलेको युगमा टेलिकममा सकारात्मक परिवर्तन आवश्यक रहेको बताए । उनले टेलिकमलाई नागरिकको हितमा काम गर्ने कम्पनीका रुपमा विकास गर्न पनि निर्देशन दिए ।
टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले यसअघि प्रत्येक वर्ष उत्कृृष्ट काम गर्ने कर्मचारीलाई वार्षिकोत्सवका बेला सम्मान गर्ने गरिएकामा भोटेकोशी बाढीपछि छिटो सेवा दिन योगदान गर्नेलाई यसपटक सम्मान गरिएको जानकारी दिईन् । मन्त्रालयका सचिव एवं टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेलिकम वायरलेस निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारी, सम्मानितमध्येबाट इञ्जिनीयर निशान्त नेपाललगायतले विपद्का बेला अवरुद्ध भएको सेवालाई सञ्चालन गर्दाका अनुभव सुनाएका थिए । त्यसअघि मन्त्री तिमिल्सिनाले बबरमहलमा नवनिर्मित हुलाक प्रशिक्षण केन्द्र भवनको निरीक्षण पनि गरी हुलाक सेवा विभागका महानिर्देशक र केन्द्रका कार्यालय प्रमुखसँग भवनका बारेमा जानकारी लिएका थिए ।