काठमाडौं, हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने अवधि थप गरेको छ । कम्पनीले कात्तिक ११ गतेदेखि खुला गरेको आईपीओमा मागअनुसार आवेदन नपरेपछि मंसिर १० गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो ।
कम्पनीले मागभन्दा बढी आवेदन परेमा भने तोकिएको म्यादअघि नै जुनसुकै समयमा सूचना प्रकाशित गरी सेयर निष्कासन तथा बिक्री बन्द गर्न सक्ने जनाएको छ । कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य रहेको उक्त सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ करोड ९० लाख रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिएको हो ।
निष्कासित सेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजना अतिप्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ । यसअन्तर्गत दोलखाको बिगु गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नं. २, ३ र ४ का बासिन्दाले आवेदन दिन सक्नेछन् । बाँकी छ लाख ७६ हजार कित्ता सेयर ती दुई गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ । यसैगरी, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने चार करोड २२ लाख ५० हजार रुपैयाँबराबरको चार लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि समेत निष्काशन गरिसकेको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।