काठमाडौं, इनड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको आधिकारिक राइड–हेलिङ पार्टनर बनेको छ । नेपालमा जारी प्रतिष्ठित टी–२० क्रिकेट प्रतियोगितामा इनड्राइभले आधिकारिक राइड–हेलिङ पार्टनरका रूपमा सहकार्य गरेको हो ।
यस साझेदारीमार्फत इनड्राइभले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्नुका साथै खेलकुद क्षेत्र र युवा पुस्तासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ । यात्रु र चालकबीचको आपसी सहमतिमा भाडा निर्धारण गर्ने प्रणालीमा आधारित इनड्राइभले निष्पक्षता, पारदर्शिता र छनोटको स्वतन्त्रतालाई प्राथमिकता दिँदै आएको छ । यी मूल्यहरू क्रिकेटको खेल भावना र एनपीएलको उद्देश्यसँग मेल खाने कम्पनीको विश्वास छ । प्रतियोगिता अवधिभर क्रिकेटप्रेमीहरूले इनड्राइभ एपमार्फत खेलस्थलसम्म आवतजावत गर्न सक्नेछन् । यात्रुले एपमा आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्नेछन् भने चालकले उक्त प्रस्ताव स्वीकार गर्न वा वैकल्पिक भाडा प्रस्ताव गर्न सक्नेछन् । यसरी दुवै पक्षको सहमतिमा यात्रा सुरु हुनुअघि नै भाडा निर्धारण गर्न सकिनेछ ।
दर्शकहरूको आवतजावतलाई थप सहज बनाउन इनड्राइभले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान परिसरमा निःशुल्क फ्यान सटल सेवा पनि गरिरहेको छ । उक्त सेवाअन्तर्गत गेट नम्बर २ नजिकै रहेको इनड्राइभ पिकअप स्टेसनबाट दर्शकहरूलाई उनीहरूका लागि तोकिएका प्रवेशद्वारसम्म पुर्याइनेछ । यातायात सुविधासँगै इनड्राइभले यस सिजन दर्शकहरूको अनुभवलाई थप मनोरञ्जनात्मक बनाउन विभिन्न गतिविधि पनि सञ्चालन गर्ने भएको छ । मैदान परिसरमा रहने इनड्राइभका एक्टिभेसन स्टलहरूमा दर्शकहरूले निःशुल्क स्लोगन कार्ड, चियरिङ स्टिक र फेस स्टिकर प्राप्त गर्न सक्नेछन् । साथै, इनड्राइभको मस्कटसँग तस्बिर खिचाउने, मनोरञ्जनात्मक खेलमा सहभागी हुने तथा दैनिक आकर्षक उपहार जित्ने अवसरसमेत पाउनेछन् । यसैगरी, प्रत्येक खेलमा क्यामेरामार्फत एक जना उत्साही दर्शकलाई ‘कुल फ्यान अफ द म्याच’ का रूपमा छनौट गरिनेछ । छनोट भएका दर्शकलाई इनड्राइभको तर्फबाट विशेष उपहार ह्याम्पर प्रदान गरिनेछ ।