चालू आर्थिक वर्षको तीन महिना र व्यापक परिवर्तन गर्ने भनेर खडा भएको सरकारको छ महिनामा आर्थिक स्थिति सुदृढ हुँदै जाने, देशमा व्यापक रूपको लगानी विस्तार भएर रोजगारी वृद्धि हुने भन्ने अपेक्षा थियो । रोजगारी वृद्धिले नै विदेश पलायनको बाटो रोक्ने भन्ने त सरकारको मूल नारा नै हो । तर त्यस्तो केही भएन मात्रै होइन, विगतको अवस्थामा सुधार आउने संकेतसम्म देखिएन । बरु उल्टो रोजगारीका लागि विदेश जानेहरूको संख्या विगतकोे भन्दा बढ्यो । दशैँजस्तो चाडपर्वको मुखमा नै विदेश जानेहरूको संख्या विगत वर्षको भन्दा ठूलो देखिनु एकप्रकारको निराशायुक्त अवस्थाको नै संकेत हो । वैदशिक रोजगारीमा त प्रमुख गन्तव्य देशहरू विगतको भन्दा बढी जोखिममा छन् । समग्र खाडी प्रदेश युद्धग्रस्त छ । कुन बेला के हुन्छ भन्ने अनुमान समेत हुने अवस्था छैन । यता दशैँ चलिरहेकै बेला उता रोजगारीमा गएका एक जना नेपाली नागरिकको युद्ध हतियारका कारण ज्यान गयो । उता जीवनको यस्तो जोखिम बढिरहेको छ भने यता बाध्यताले त्यता जानुपर्नेहरूको संख्या दिनहुँ बढिरहेको छ । यस्तो बेला देशको खासगरी लगानी बढ्ने र रोजगारी उपलब्ध हुने अपेक्षा झन्झन् क्षीण हुँदै गएका छन् ।
नेपाल राष्ट्र बैंकले गरेको एउटा अध्ययनमा चलिरहेका उद्योगको क्षमता उपयोग हुन नसकेको अवस्था प्रकट गरेको छ । यो पनि खासगरी औद्योगिक क्षेत्रका रूपमा चिनिने ठाउँमै । आर्थिक वर्ष २०८२/८३ को तथ्यांकलाई आधारित भएर कोसी प्रदेशमा गरिएको अध्ययनले उद्योगको क्षमता उपयोग हुन नसकेको देखायो । बैंकको अध्ययनले कारणमा बजार मागमा कमी र आयातित वस्तुसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दाको अवस्था भनेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार कोशी प्रदेशका नमूना छनौटमा समेटिएका २५ उद्योग समूहअन्तर्गतका ४२ उद्योगको भारित औसत क्षमता उपयोग ४३.१ प्रतिशत मात्रै देखियो । यो भनेको क्षमताको आधाभन्दा कम उपयोग हो । उद्योगहरू नै उत्पादन क्षमताको आधाभन्दा कम मात्रै उपयोग गरिरहेका छन् भने त्यसले पार्ने सबैभन्दा प्रत्यक्ष प्रभाव भनेको रोजगारीको क्षेत्र हो । कोसी प्रदेशको मोरङ, सुनसरी र झापा जिल्ला औद्योगिक क्षेत्रका रूपमा चिनिन्छन् । प्रतिवेदनले अध्ययनका क्रममा समेटिएका उद्योगमा कार्यरत श्रमिकको संख्या अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशतले घटेर १६ हजार नौ सय ६२ मा झरेको देखिएको भनेको छ । अघिल्लो आर्थिक वर्षमा गरिएको यस्तो अध्ययनमा औद्योगिक श्रमिकको संख्या २.२ प्रतिशतले बढेको थियो । चालू वर्ष सबै कुराले अनुकूल मानिन्छ । सरकारको नारा नै समृद्धि भन्ने छ । यसमा क्षमता घट्नुको कारण मागमा पनि कमी आउनु बताइएको छ, जो हरेक दृिष्टले नकारात्मक सूचक भन्नुपर्छ ।
राष्ट्र बैंकको अध्ययनमा नमूना छनौमा परेका उद्योगमध्ये भटमासको तेल, तोरीको तेल, टायर तथा ट्युब, इँटा, धागो, चाउचाउ, बिस्कुट, चिनी, प्लास्टिकका सामान, गार्मेन्ट, चप्पल, प्रशोधित चिया र जुटका सामान उत्पादन गर्ने उद्योगको क्षमता उपयोग तुलनात्मक रूपमा केही बढको छन । तर क्षमताको उपयोग घटेका उद्योगहरूको संख्या ठूलो छ । घटेकामा वनस्पती घिउ, घरेलु धातुका सामान, सिमेन्ट, जीआई तार, साबुन, चामल, प्रशोधित दूध, फलामका छड, पत्ती तथा सामान, पशुदाना, कागज, कच्चा छाला, सिन्थेटिक कपडा आदि पर्छन् । प्रतिवेदनअनुसार अध्ययनमा समेटिएका २५ उद्योग समूहमध्ये १३ वटाको औसत क्षमता उपयोग ५० प्रतिशत वा सोभन्दा बढी छ भने १२ वटा उद्योग समूहको क्षमता उपयोग ५० प्रतिशतभन्दा कम छ । घट्नुको कारणमा बजार मागमा आएको कमी र आयातित वस्तुसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्नु रहेको देखाइएको छ । क्षमताको प्रयोग नहुँदा रोजगारीमा असर पर्ने भयो नै । जस्तो मोरङमा ७ प्रतिशत, झापामा ३.१ प्रतिशत, इलाममा ५.७ प्रतिशत र उदयपुरमा १४.६ प्रतिशतले श्रमिक संख्या घटे । यो विषयलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ ।