तेहरान, तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने नयाँ योजनामाथि वासिङ्टनबाट औपचारिक जवाफ पर्खिरहेको बेला उसको धारणा अझ कडा बनेको छ । इरानले मंगलबार मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने धम्की दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसकेका छन् तर इरानका परराष्ट्रमन्त्रीसहितका अधिकारीहरूले सोमबार अमेरिकी अधिकारीहरूबाट एक दिनभित्र औपचारिक जवाफ आउने आशा व्यक्त गरेका थिए । हालैका हप्ताहरूमा लडाइँ कम भएको छ । तर तेहरानले जलमार्गमा जहाजहरूलाई लक्षित गरिरहेको छ भने वासिङ्टनले थप सैन्य कारबाहीको सट्टा आर्थिक दबाबको अभियानमा जोड दिएको छ ।
इरानका मुख्य वार्ताकार मोहम्मद बागेर गालिबाफले मंगलबार नयाँ आक्रमणको चेतावनी दिएका छन् । उनले भने, ‘यदि आफ्नो देशको सुरक्षा सुनिश्चित नगरिए उक्त क्षेत्रका कुनै पनि अमेरिकी पूर्वाधार सुरक्षित रहने छैनन् । जुन क्षेत्रमा हामी तेल बेच्न सक्दैनौं, त्यहाँ अरू कसैले पनि तेल बेच्न पाउने छैनन् वा यदि हाम्रो सुरक्षा सुनिश्चित गरिएन भने कुनै पनि पूर्वाधार सुरक्षित रहने छैन ।’
फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायलको इस्लामिक गणतन्त्रमाथि आक्रमणसँगै सुरु भएको युद्धदेखि नै इरानले हर्मुजमार्फत व्यावसायिक ढुवानीमा नाकाबन्दी लगाइरहेको छ । यो ढुवानी मार्गले द्वन्द्व सुरु हुनुअघि विश्वको तेल र तरल प्राकृतिक ग्यासको पाँच भागको एक भाग ओगट्थ्यो । अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा प्रतिनाकाबन्दी कायम राखेर तेहरानलाई तेल निर्यात गर्न नदिने प्रयास गरिरहेको छ ।
हर्मुज पुनः खोल्ने सम्भावनाबारे परराष्ट्रमन्त्री अब्बास अराघचीले सोमबार राति भन्नुभएको थिए, ‘कतारी मध्यस्थकर्ताहरूले ‘विचारहरू प्रस्तुत गरेका थिए र हामीले छलफल गर्यौँ। उनीहरूले फेरि अमेरिकी पक्षसँग यो विषय उठाउने छन्, त्यसपछि अमेरिकी अन्तिम जवाफ हामीलाई दिइने छ ।’
संयुक्त राष्ट्र महासभाका लागि न्यूयोर्कमा रहेका वरिष्ठ कूटनीतिज्ञले भने, ‘कतारी अधिकारीहरूले यो भोलिसम्म हुने आशा गरेका छन् । हालको ध्यान केवल हर्मुज जलमार्गमा केन्द्रित छ र जलमार्ग पुनः खोल्ने कुरा हामीले अर्को पक्षलाई जानकारी गराएका केही सर्तहरू पूरा हुनुमा निर्भर छ ।’ गत साता न्यूयोर्कमा अराघची र अमेरिकी दूत स्टिभ विटकोफ तथा जारेड कुश्नरबीच छलफल भएको थियो ।
मंगलबार कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले भने, ‘धेरै बैठकहरू भएका छन् र सन्देशहरू आदानप्रदान भएका छन्, जसमा न्यूयोर्क र पहिलेका केही सन्देश समावेश छन् । हालका प्रयासहरू युद्धरत पक्षहरूबीच साझा आधार निर्माणमा केन्द्रित छन् ।’ नाकाबन्दी अन्त्य गर्ने पूर्वसर्तका रूपमा इरानले मध्यपूर्वभर, विशेष गरी लेबनानमा (जहाँ उसको सहयोगी हिज्बुल्लाहलाई इजरायलले नियमित रूपमा बमबारी गरिरहेको छ) सात दिने युद्धविराम माग गरेको छ ।
इरानले विदेशमा आफ्ना सम्पत्ति फुकुवा गर्ने, तेल क्षेत्रमाथिको प्रतिबन्ध हटाउने र आफ्ना बन्दरगाहमाथिको अमेरिकी नौसेना नाकाबन्दी अन्त्य गर्ने माग पनि गरेको छ । दुवै पक्षले हर्मुजमाथि नियन्त्रण दाबी गरेका छन्। अमेरिकाले तेल बगिरहेको बताउँछ भने तेहरानले जलमार्ग बन्द रहेको जोड दिन्छ । मंगलबार इरानका रिभोलुसनरी गार्ड (देशको सैन्यको वैचारिक शाखा) ले भनेको छ, ‘अमेरिकी दाबीलाई कि यो खुला छ, कि गलत हो ।’
‘अँध्यारोमा ‘ट्रान्सपोन्डर’ बन्द गरेर र ठूलो खर्चमा केही सय ब्यारेल तेल चुपचाप लैजानुले जलमार्ग खुला भएको अर्थ लाग्दैन’, प्रवक्ता हुसेन मोहेबीले भने, ‘साँचो खुला जलमार्ग भनेको विगतमा जस्तै दैनिक कम्तीमा १२५ जहाजहरू आवतजावत गर्ने र कम्तीमा दुई करोड ब्यारेल तेल तथा पेट्रोलियम उत्पादनहरू ढुवानी हुने अवस्था हो । कुनै पनि जहाज पार गर्न खोज्दा क्षति पुग्छ–या त हामी आक्रमण गर्छौं, या त यो बारुदमा ठोक्किन्छ ।’
तेहरानको हर्मुजमाथिको कब्जाले खाडीका देशहरूलाई गम्भीर धक्का दिएको छ, जसलाई इरानी आक्रमणको सामना पनि गर्नुपरेको छ । अल अन्सारीले भने, ‘इरानी अधिकारीहरूले ‘हाम्रा देशहरूलाई यस युद्धबाट टाढा राख्ने र छिमेकीहरूप्रति गैर–आक्रामकताको स्पष्ट अडान लिने निर्णय’ लिन आवश्यक छ ।’