बागमती, बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका स्थानीयवासी त्रासमा परेका छन् । गरगरे बस्तीमा एकाएक जमिन फाट्न थालेसँगै कतिखेर के हुने हो भन्ने सन्त्रासले स्थानीयलाई त्रसित बनाएको छ । केही दिनअघिदेखिको लगातारको वर्षासँगै असोज ११ गते यता स्थानका बासिन्दामा चिन्दा बढ्दै गएको छ । यहाँका कतिपय स्थानमा १२ फिटसम्म जमिन भासिएको छ भने दुई वर्गकिलोमिटर क्षेत्रको ठाउँ ठाउँमा जमिन चिराचिरा परेको छ ।
यहाँका आठ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त छन् । झण्डै ८० घरधुरी प्रभावितमा परेको बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए । सूचना प्राप्त भएसँगै यहाँका स्थानीयलाई अस्थायी रुपमा सुरक्षित स्थानमा सारिएको छ । वरपरको जमिन चिरापर्ने साथै घर नै भत्कन थालेपछि आफूहरू ठूलो समस्यामा परेको स्थानीयवासी चन्द्रमाया थिङले जानकारी दिए । ११ गते दिउँसो १ः०० बजेतिर पशुबस्तुका लागि घाँस काटेर घरमा आउँदा घरभित्रको मझेरी चिरिएको देखेपछि के भयो भन्दाभन्दै एकाएक वरपरको जमिनसमेत फाटेको उनले अनुभव सुनाए ।
“जमिनसँगै घर भित्रै चिरा पर्न थालेपछि डाङ्डाङडुङ्डुङ गरी आवाज आउन थाल्यो”, उनले भने, “घर नै चिराचिरा परेर भत्कन थालेपछि त्यो दिन राति छिमेकीकामा बसेको र अर्को दिनदेखि स्कुलमा बस्दै आएका छौँ ।” आफूहरू आर्थिक रुपमा कमजोर रहेको बताउँदै उनले सरकारबाट पूर्ण रुपमा साथ र सहयोग हुने आशा रहेको राससलाई बताए ।
अर्का स्थानीय चित्रबहादुर किलुङको पनि उस्तै दुःखेसो छ । धेरै दुःख कष्ट गरेर बनाएको घर चिराचिरा पर्न थालेसँगै बस्न सकिने अवस्थामा नरहेको बताउँदै ७० वर्षीय किलुङ आफूहरू बेसहारा बनेको बताए । आफु विपन्न रहेको बताउँदै उनले सुरक्षित स्थानान्तरण र सहज जीविकोपार्जनका लागि सरकारको साथ र सहयोगको अपेक्षा गरेको बताए ।
स्थानीयवासीका अनुसार यहाँका करिब दुई वर्गकिलोमिटर क्षेत्रमा ठाउँठाउँमा जमिन चिराचिरा पर्नुका साथै केही भूभाग तलतिर सरेको छ भने त्यस क्रममा जमिनभित्रबाट अस्वाभाविक आवाज आएको थियो । ८४ वर्षीय रामबहादुर घलान जमिन चिराचिरा पर्नेक्रमसँगै घर भत्किएपछि घरबारविहीन बनेको बताउँदै तत्काल सुरक्षित स्थानान्तरणको खोजीमा रहेको बताउँछन् ।
जमिन फाट्नुका साथै सडक र विद्युत्का खम्बासमेत ठाउँठाउँमा कोल्टिएपछि सिङ्गो गाउँ नै त्रासमा रहेको बकैया गाउँपालिका– ६ का वडाध्यक्ष फूलमान भम्जनले बताए । यहाँको बस्ती विकास २०२० सालदेखि नै भएको हो । गाउँमा विशेषगरी तामाङ र विक समुदायका मानिसको बाहुल्यता छ । यसअघि २०६८ सालमा पनि यहाँको जमिनमा यस्तै चिराचिरा परेको थियो । त्यस बखत यहाँबाट विद्यालय सार्नुपरेको थियो ।
तत्कालीन समयमा शङ्खेश्वरी प्राविलाई ठूलो ज्यामिरेबाट देवीडाँडा (तल्लो टोल) मा सारिएको जानकारी दिँदै उनले अहिले सो विद्यालयमा यस क्षेत्रका ठूलो ज्यामिरे, सानो ज्यामिरे, काल्छे, खोला, भोगटे, अल्छेलगायत स्थानबाट विद्यार्थी पढ्नका लागि आउने गरेका छन् ।
ज्यामिरेमा जमिन चिराचिरा पर्न थालेको सूचना पाप्त हुनासाथ यस क्षेत्रका स्थानीयवासीको जिउधनको सुरक्षाका लागि मकवानपुर प्रशासनले विशेष चासो दिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले मङ्गलबार उक्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
स्थलगत अवलोकनका क्रममा प्रजिअ अधिकारीले जमिन चिराचिरा परिरहेको अवस्थामा पहिलो प्राथमिकता आफ्नो ज्यानको सुरक्षा भएको भन्दै स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरे ।
“हामीले यहाँको घटनाबारे जानकारी पाउनसाथ फापरबारी प्रहरीचौकीका साथै सशस्त्र प्रहरी, नेपाली सेनासहित यहाँका वासिन्दालाई सुरक्षित रहन सूचना जारी गर्यौं”, उनले भने, “अहिले स्थानीयवासी रातको समयमा स्कुलमा बस्नुहुन्छ ।” स्थानीय विपद् व्यवस्थापन समितिले स्थलगत अवलोकन गरेपछि सो स्थान मानवबस्तीका लागि योग्य नभएको बताएको छ ।