काठमाडौं, जेसीबी इन्डियाले हालै नेपालमा आएको बाढीका क्रममा उद्धार कार्यमा सहयोग गर्ने आफ्ना दुई नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई सम्मान गरेको छ । उनीहरुलाई ‘बाउमा कन्एक्सपो इन्डिया २०२६’ को जेसीबी प्याभिलियनमा सम्मान गरिएको कम्पनीले जनाएको छ ।
जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले उनीहरूको प्रयासको प्रशंसा गरेका थिए । जेसीबी २२१ ट्र्याक्ड एक्साभेटर र अन्य मेसिनहरू प्रयोग गरी राउत र अधिकारीले त्रिशूली ३ए साइटमा लगातार धेरै दिन काम गरेका थिए । जसका कारण त्यहाँ फसेका दुई व्यक्तिको जिवितै उद्धार सम्भव भएको थियो ।
जेसीबी डब्लूओडब्लू सर्भिस गाडीहरूमार्फत एमएडब्लू अर्थमुभर्सले नुवाकोट र धादिङमा उद्धार, राहत र पुनर्निर्माण कार्यमा खटिएका जेसीबी मेसिनहरूलाई समेट्ने गरी ‘जेसीबी विपद् राहत विशेष निःशुल्क सर्भिस क्याम्प’ पनि सञ्चालन गरिरहेको छ । साथै, कम्पनीले जोखिमपूर्ण परिस्थितिमा उद्धार र पुनर्निर्माणमा खटिएका मेसिनका अपरेटरहरूलाई सुरक्षा किटसमेत वितरण गरेको छ ।