काठमाडौं, चिनियाँ विद्युतीय सवारी ब्रान्ड लिपमोटरको नयाँ इलेक्ट्रिक एसयूभी बी०३एक्स नेपाली बजारमा औपचारिक रूपमा बिक्री तथा डेलिभरी चरणमा प्रवेश गरेको छ ।
नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले प्रारम्भिक बुकिङपछि ग्राहकलाई गाडी हस्तान्तरण गर्न सुरु गरेको हो । काठमाडौंमा सडक परीक्षण र औपचारिक सार्वजनिक कार्यक्रम सम्पन्न भएपछि कम्पनीले पहिलो चरणका ग्राहकलाई सवारी हस्तान्तरण गरेको जनाएको छ । सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले बी०३एक्सप्रति ग्राहकको प्रारम्भिक प्रतिक्रिया उत्साहजनक रहेको बताए ।
कम्पनीका अनुसार बी०३एक्समा १४५ किलोवाट क्षमताको विद्युतीय मोटर र ५३ किलोवाट–घण्टाको ब्याट्री प्याक जडान गरिएको छ । यसले सीएलटीसी परीक्षण मापदण्डअनुसार एकपटकको फुल चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज दिनेछ । गाडीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न १६ मिनेट लाग्ने फास्ट चार्जिङ सुविधा रहेको दाबी गरिएको छ । प्रविधि र सुविधाका हिसाबले पनि बी०३एक्सलाई कम्पनीले प्रतिस्पर्धी विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरेको छ । यसमा १४.६ इन्चको टचस्क्रिन, १२ स्पिकरयुक्त साउन्ड सिस्टम र लेभल–२ एडास सुरक्षा प्रणाली उपलब्ध रहेको कम्पनीको भनाई छ ।
कम्पनीका अनुसार यसमा ५१० लिटर क्षमताको बुट स्पेस छ । पछाडिका सिट फोल्ड गर्दा उक्त क्षमता बढेर एक हजार छ सय पाँच लिटरसम्म पुग्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लिपमोटरले विश्व बजारमा १९ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ । सन् २०२५ को जुलाईदेखि अक्टोबरसम्म लगातार चार महिना मासिक एक लाखभन्दा बढी सवारी बिक्री गरेको कम्पनीको दाबी छ । हाल ४५ भन्दा बढी देशमा दुई हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गरेको छ ।