काठमाडौं, ग्राहकको आवश्यकता, सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेड र दराज नेपालबीच विश्वव्यापी रूपमा चर्चित ११.११ अभियानका अवसरमा ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने उद्देश्यले सहकार्य भएको छ ।
बैंकले आफ्ना डिजिटल बैंकिङ सुविधालाई थप विस्तार गर्दै ग्राहकलाई सहज, सुरक्षित र लाभदायक डिजिटल भुक्तानीको अवसर उपलब्ध गराउने नीतिअनुरूप दराज नेपालसँग सहकार्य गरेको हो ।
यस सहकार्यअन्तर्गत २०८३ कार्तिक १५ गतेदेखि कार्तिक २५ गतेसम्म लागू हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले दराज नेपालमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । योजना अनुसार डेबिट कार्डमार्फत भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट प्राप्त हुनेछ भने क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाइनेछ । उक्त छुट प्राप्त गर्न ग्राहकले दराज एप वा वेबसाइटबाट सम्बन्धित भौचर संकलन गर्नुपर्नेछ ।
साथै, योजना अवधिमा सहभागी हुने ग्राहकलाई पहिलो आउनेलाई प्राथमिकता दिने आधारमा छुट उपलब्ध गराइने बैंकले जनाएको छ । यस प्रकारको सहकार्यले ग्राहकसँग डिजिटल माध्यमबाट थप प्रभावकारी रूपमा जोडिन, भुक्तानी प्रक्रियालाई सहज तथा सुरक्षित बनाउन र डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास बैंकले लिएको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको छ । यसैक्रममा बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ । बैंकले प्रविधिमैत्री सेवा विस्तार गर्दै ग्राहकलाई आधुनिक, सहज र गुणस्तरीय बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।