काठमाडौं, महालक्ष्मी विकास बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ४९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले नौ करोड ७५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा भएको वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस)मा समेत सुधार आएको छ । गत वर्षको पहिलो त्रैमासमा ९ रुपैयाँ ८ पैसा रहेको बैंकको ईपीएस चालू आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १० रुपैयाँ ५० पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ५० करोड १९ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर ५१ करोड ४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५८ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १७ करोड रुपैयाँ कायम भएको छ ।
बैंकले निक्षेप संकलन तथा कर्जा विस्तारमा समेत सामान्य वृद्धि गरेको छ । असोज मसान्तसम्म बैंकले ५५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप ५५ अर्ब नौ करोड रुपैयाँ रहेको थियो । यसैगरी, बैंकको कर्जा तथा सापटी लगानी ४३ अर्ब ३४ करोड रुपैयाँबाट बढेर ४३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल सम्पत्तिमा समेत वृद्धि देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ६५ अर्ब पाँच करोड रुपैयाँ रहेको कुल सम्पत्ति समीक्षा अवधिमा बढेर ६५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको कुल सेयरधनी कोष सात अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ ।
त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एक सय ६५ रुपैयाँ ४२ पैसा रहेको प्रतिसेयर नेटवर्थ चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर एक सय ६६ रुपैयाँ ७३ पैसा पुगेको वित्तीय विवरणमा उल्लेख छ । यद्यपि, बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपातमा भने दबाब देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच दशमलव ५० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालू आर्थिक वर्षको समीक्षा अवधिमा बढेर छ दशमलव ४९ प्रतिशत पुगेको छ ।
समग्रमा बैंकले समीक्षा अवधिमा खुद नाफा, प्रतिसेयर आम्दानी, ब्याज आम्दानी, निक्षेप तथा कर्जा विस्तारमा सुधार गरेको देखिए पनि निष्क्रिय कर्जाको अनुपात बढ्नु बैंकका लागि चुनौतीका रूपमा देखिएको छ ।