काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बालकुमारीस्थित एथलेट ल्यान्ड एन्ड ट्रेनिङ्ग क्लबका विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एथलेट ल्यान्ड एन्ड ट्रेनिङ्ग क्लबसँग व्यावसायिक सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले उक्त क्लबका विभिन्न सेवा तथा सुविधामा सात दशमलव ५० प्रतिशतदेखि १७ दशमलव ५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन् । क्लबमा जिम, बक्सिङ, एडभान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लास, जुम्बा, योगालगायतका सेवाहरू उपलब्ध रहेको बैंकले जनाएको छ । साथै, वर्कआउटपछि रिल्याक्सेसनका लागि साउनाको सुविधासमेत क्लबमा रहेको छ । विशेष छुट तथा सुविधा लिनका लागि मुक्तिनाथ विकास बैंकका ग्राहकले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।