काठमाडौं, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवा बाढीबाट प्रभावित अटोमोबाइल क्षेत्रको विवरण संकलन सुरु गरेको छ । नाडाले मंगलबार एक विज्ञप्ति जारी गरी भोटेकोसीमा आएको बाढी तथा डुबानबाट अटोमोबाइल क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी प्रभावित व्यवसायीलाई सहजीकरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
नाडाले बाढी प्रभावित सदस्य कम्पनीलाई क्षतिको यथार्थ तथा प्रमाणित विवरण नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ । क्षतिको विवरणमा क्षतिग्रस्त तथा हराएका सवारीसाधन, सवारीसाधन रहेको स्थान, सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार र उपलब्ध पहिचान विवरण समावेश गर्न भनिएको छ ।
त्यस्तै, गोदाम, कार्यालय तथा अन्य भौतिक संरचनामा भएको क्षति, बीमा गरिएको सम्पत्ति तथा सवारीसाधन, बीमा दाबीका लागि आवश्यक कागजात, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण र अन्य प्रत्यक्ष व्यावसायिक क्षतिको विवरणसमेत उपलब्ध गराउन नाडाले अनुरोध गरेको छ ।
नाडाले प्राप्त विवरणका आधारमा सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने जनाएको छ । बाढीबाट क्षतिग्रस्त वा हराएका सवारीसाधनको पहिचान तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गर्ने र बीमा दाबी प्रक्रिया छिटो तथा सहज बनाउन बीमा कम्पनीसँग पहल गर्ने नाडाले जनाएको छ ।
प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकनलगायत सम्भावित सहजीकरणका विषयमा पनि सम्बन्धित निकायसँग समन्वय गरिने नाडाको भनाइ छ । अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण सरकार तथा सम्बन्धित निकायसमक्ष प्रस्तुत गरी राहत, सहजीकरण तथा आवश्यक नीतिगत सम्बोधनका लागि पहल गर्ने नाडाले जनाएको छ । यसका लागि आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गर्ने तयारीसमेत गरिएको नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।