काठमाडौं, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा बीमाशुल्क आर्जन र कुल आम्दानीमा उल्लेख्य वृद्धि भए पनि खुद नाफा भने घटेको छ ।
चालू आवको असोज मसान्तसम्म कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ७९ प्रतिशतले कम हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन भने २९ दशमलव ३१ प्रतिशतले बढेर सात अर्ब ३९ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पाँच अर्ब ७२ करोड छ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ३० दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । असोज मसान्तसम्म कम्पनीले सात अर्ब १९ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम पाँच अर्ब ५२ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको जीवन बीमा कोषको आकार पनि विस्तार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको जीवन बीमा कोष चालू आर्थिक वर्षको असोज मसान्तसम्म १५.८२ प्रतिशतले बढेर एक खर्ब आठ अर्ब ४५ करोड २६ लाख रुपैयाँ पुगेको छ । वित्तीय विवरणअनुसार कम्पनीको कुल आम्दानी २५ दशमलव ८९ प्रतिशतले बढेर नौ अर्ब २० करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी सात अर्ब ३१ करोड १४ लाख रुपैयाँ रहेको थियो । तर, आम्दानीसँगै खर्च पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च २८ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई आठ अर्ब ९२ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो खर्च छ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ थियो ।
कम्पनीको वित्तीय विवरणअनुसार पाँच अर्ब ६९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यस्तै, रिटेन्ड अर्निङमा ६० करोड ४९ लाख रुपैयाँ, सेयर प्रिमियममा दुई करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ७५ करोड ८५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ करोड ६७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) आठ रुपैयाँ ८३ पैसा रहेको छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ एक सय ३० रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६४ दशमलव ८९ गुणा रहेकोे छ ।