काठमाडौं, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफा खुम्चिएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार चालू आवको पहिलो त्रैमासमा बैंकले १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा २० दशमलव १६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले २० करोड ८५ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको ब्याज आम्दानी पनि तीन दशमलव ९३ प्रतिशतले घटेर ५९ करोड ७४ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड १८ लाख ६५ हजार रुपैयाँ थियो । यता, बैंकको ब्याज खर्च भने एक दशमलव ७६ प्रतिशतले बढेर २५ करोड ३१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । ब्याज आम्दानीमा आएको गिरावट र ब्याज खर्चमा भएको वृद्धिका कारण बैंकको खुद ब्याज आम्दानी सात दशमलव ७३ प्रतिशतले घटेर ३४ करोड ४२ लाख ६५ हजार रुपैयाँमा झरेको छ । बैंकको शुल्क तथा कमिसनबाट प्राप्त गर्ने आम्दानीमा भने सुधार देखिएको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ५८ दशमलव ४५ प्रतिशतले बढेर दुई करोड एक लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा बैंकले शुल्क तथा कमिसनबाट एक करोड २७ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको थियो । तर, खुद ब्याज आम्दानीमा आएको गिरावटका कारण बैंकको कुल सञ्चालन आम्दानी पाँच दशमलव ५४ प्रतिशतले घटेर ३६ करोड ४४ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम दुई सय १५ दशमलव ४८ प्रतिशतले बढेर तीन करोड ८७ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो रकम एक करोड २२ लाख ७२ हजार रुपैयाँ थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा १९ दशमलव ५० प्रतिशतले घटेर २४ करोड १ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ ।
अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफामा गिरावट आए पनि निक्षेप संकलन, कर्जा प्रवाह र कुल सम्पत्ति भने बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५४ दशमलव शून्य चार प्रतिशतले बढेर १२ अर्ब ४ करोड ५१ लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप सात अर्ब ८१ करोड ९६ लाख ६५ हजार रुपैयाँ थियो । यसैगरी बैंकको कर्जा प्रवाह पनि ३० दशमलव ५२ प्रतिशतले बढेर ३४ अर्ब १७ करोड ४७ लाख ९६ हजार रुपैयाँ पुगेको छ । बैंकको कुल सम्पत्ति पनि पाँच दशमलव ५० प्रतिशतले बढेर ४४ अर्ब ३२ करोड ३६ लाख ८० हजार रुपैयाँ कायम भएको छ ।
बैंकको चुक्ता पुँजी भने २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । तर, समीक्षा अवधिमा बैंकको जगेडा तथा कोष ३८ प्रतिशतले घटेर दुई अर्ब ६७ करोड ३६ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ । वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी तीन रुपैंयाँ आठ पैसा रहेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ एक सय १२ रुपैंयाँ ३८ पैसा रहेको छ ।