काठमाडौं, नेपाल टेलिकमको खुद नाफामा ३७.३५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजानिक गरेको चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार नाफामा उक्त वृद्धि देखिएको हो ।
कम्पनीले पहिलो त्रैमासमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३५ प्रतिशतले बढी हो । गत वर्ष पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको कुल आय ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको करअघिको नाफा ३.६५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो नाफा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ थियो । तर, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको सञ्चालन नाफा (ईबीआईटीडीए) भने ६.१३ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ईबीआईटीडीए ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यो रकम ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ थियो । कम्पनीका अनुसार कर्मचारीको तलब वृद्धि हुँदा कर्मचारी खर्च बढेको छ । यद्यपि, ह्रास खर्चमा आएको कमी र सम्पत्तिको मूल्यह्रास क्षति फिर्ता समायोजन (इम्पेयरमेन्ट रिभर्सल) का कारण खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको छ । यसले खुद नाफा बढाउन योगदान पुर्याएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार समीक्षा अवधिमा रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित भएको थियो । विपद्बाट प्रभावित सेवाग्राहीलाई कम्पनीले १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराएको थियो । प्राकृतिक विपद्का कारण सेवा अवरुद्ध हुनु र व्यावसायिक गतिविधिमा परेको असरले सेवा बिक्री तथा आम्दानीमा प्रतिकूल प्रभाव पारेको कम्पनीले जनाएको छ । त्यस्तै, असोज २५ गते बुढीगण्डकी क्षेत्रमा आएको बाढीले पनि दूरसञ्चार सेवामा नकारात्मक प्रभाव पारेको कम्पनीको भनाइ छ । यद्यपि, कम मूल्यका ठूला मोबाइल डेटा प्याकेजको प्रयोग बढेसँगै जीएसएम तथा एफटीटीएच सेवातर्फको सञ्चालन राजस्वमा वृद्धि भएको छ । कम्पनीका अनुसार जीएसएम सेवाबाट १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच सेवाबाट ४ करोड ४० लाख रुपैयाँ सञ्चालन राजस्व थपिएको छ ।
कम्पनीले बढी लागत र कम प्रतिफल प्राप्त हुने दुर्गम तथा विकट क्षेत्रमा समेत दूरसञ्चार सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ४५ पैसा रहेको छ ।