काठमाडौं, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाली संगीतलाई प्रतिस्पर्धी सिर्जनात्मक उद्योगका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय संगीतकर्मी संघद्वारा आइतबार आयोजित कार्यक्रममा उनले संगीतलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् । यसका लागि नयाँ पुस्ताका प्रतिभालाई व्यावसायिक करियर निर्माण गर्ने अवसर उपलब्ध गराउन आवश्यक रहेको उनले बताए । नेपाली संगीत मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रिय पहिचान, संस्कृति र मौलिकताको महत्वपूर्ण आधार भएको उनले बताए। अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कलाकारको सिर्जनात्मक अधिकारको संरक्षण, उचित पारिश्रमिक र डिजिटल प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको उनको भनाइ थियो । साथै उनले नेपाली संगीतलाई सांस्कृतिक कूटनीति, पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्नुपर्ने बताए ।
नेपाली संगीतको विश्व बजारमा विस्तारका लागि सरकार, निजी क्षेत्र, संगीत क्षेत्र, सञ्चारमाध्यम र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । उनले कलाकारको बौद्धिक सम्पत्तिको संरक्षण, प्रतिलिपी अधिकारको प्रभावकारी कार्यान्वयन, डिजिटल रोयल्टीमा पारदर्शिता र सिर्जनाको उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिए ।
डिजिटल प्रविधि, स्ट्रिमिङ प्लेटफर्म, सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता (एआई)को विकाससँगै संगीत क्षेत्रमा नयाँ अवसर र चुनौती थपिएको उनको भनाइ छ । अध्यक्ष अग्रवालले प्रविधिले कलाकारको सिर्जनात्मक क्षमता विस्तार गर्नुपर्ने, तर सिर्जनामाथिको अधिकार कमजोर पार्ने माध्यम बन्न नहुने बताए । डिजिटल पाइरेसी, प्रतिलिपि अधिकार उल्लंघन र अनधिकृत रूपमा सामग्री प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न समयानुकूल कानुनी तथा संस्थागत व्यवस्था आवश्यक रहेको पनि उनको भनाइ थियो । कलाकारले आफ्नो सिर्जनाबाट सम्मानजनक आम्दानी गर्न सक्ने वातावरण निर्माण गर्नु राज्य र सम्बन्धित क्षेत्रको साझा जिम्मेवारी भएको उनले बताए । समृद्ध नेपाल निर्माणका लागि भौतिक पूर्वाधारसँगै सरकारले कला, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवद्र्धनमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले कला, साहित्य र संगीत क्षेत्रको विकासका लागि राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए । नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवद्र्धनमा संगीतकर्मी, कलाकार, सञ्चारकर्मी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनले बताए । कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, संगीतकर्मी, स्रष्टा तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै स्रष्टाहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालको सभापतित्व तथा संघका वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न भएको थियो ।