काठमाडौं, रामाडा बाइ विन्डह्याम इटहरीले कोशीटप्पु वन्यजन्तु आरक्षसहित पूर्वी नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धनलाई तीव्रता दिएको छ । होटलले सामाजिक सञ्जाल, स्थानीय तहमा सहकार्य तथा विशेष पर्यटन प्याकेजमार्फत यस क्षेत्रको प्राकृतिक सम्पदा, वन्यजन्तु र पर्यटन सम्भावनालाई प्रचार गर्दै आएको जनाएको छ ।
सन् २०२६ जनवरीदेखि सञ्चालनमा आएको होटलले आफ्नो व्यावसायिक गतिविधिसँगै पूर्वी नेपालको पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ । होटल सञ्चालनमा आउनुअघि नै सामाजिक सञ्जालमार्फत यस क्षेत्रका पर्यटकीय गन्तव्य र यात्रासम्बन्धी जानकारी सार्वजनिक गर्न थालिएको होटलको भनाइ छ । होटलले कोशीटप्पु वन्यजन्तु आरक्षको पारिस्थितिक महत्व र जैविक विविधताबारे प्रचार गर्न आरक्षका संरक्षण अधिकृत भूपेन्द्र यादवसँग सहकार्य गरिरहेको जनाएको छ । यसैअन्तर्गत होटलले ‘कोशीटप्पु वाइल्डरनेस एस्केप’ नामक प्याकेजसमेत सञ्चालनमा ल्याएको छ । प्याकेजमार्फत पाहुनालाई पूर्वी नेपालको प्राकृतिक सम्पदा अन्वेषण गर्ने अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
विन्डह्याम होटल्स एन्ड रिसोट्र्सका युरेसिया क्षेत्रका प्रमुख सञ्चालन अधिकृत अनिमेश कुमारले मार्चमा इटहरीस्थित होटलको भ्रमण गरी औपचारिक रूपमा साँचो हस्तान्तरण गरेका थिए । होटलले वन्यजन्तु अवलोकन, चरा अवलोकन, सांस्कृतिक सम्पदा र प्राकृतिक दृश्यलाई पूर्वी नेपालको पर्यटन प्रवद्र्धनका प्रमुख पक्षका रूपमा प्रस्तुत गर्दै आएको छ । परिचित पर्यटकीय मार्गभन्दा बाहिरका गन्तव्यबारे जानकारी दिएर यात्रुलाई यस क्षेत्रका थप स्थानसम्म पुग्न प्रेरित गर्ने उद्देश्य रहेको होटलले जनाएको छ । यसका अतिरिक्त होटलको रेस्टुरेन्ट तथा खानपान सेवाले पनि स्थानीय ग्राहक र होटलमा बस्ने पाहुनालाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।
होटलले आवास तथा खानपान सेवासँगै स्थानीय पर्यटनलाई जोडेर इटहरीलाई आतिथ्य तथा पर्यटकीय गतिविधिको केन्द्रका रूपमा विकास गर्ने प्रयास गरिरहेको जनाएको छ । पूर्वी नेपालमा पर्यटनको सम्भावना विस्तार भइरहेका बेला होटलले गन्तव्य प्रवर्द्धन, संरक्षणसम्बन्धी सहकार्य र खानपान सेवामार्फत आफ्नो उपस्थिति बलियो बनाउने योजना अघि सारेको छ ।