काठमाडौं, हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन दशैलगत्तै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गरेको हेटौंडा–ढल्केबर ४०० केभी सवस्टेशनको निरीक्षणका क्रममा उक्त जानकारी दिइएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले १२ वर्षदेखि अड्किएको हेटौडा ढल्केबर प्रसारण लाइनको निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।
उनकाअनुसार हेटौंडा–ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किटको टावर निर्माण भइसकेको छ । दुईवटा मल्टिसर्किट टावर अन्तिम चरणमा छ । ‘१४ वटा टावर तयार भइसक्यो । बाँकी दुईवटा टावरको कार्यप्रगति राम्रो छ । १०/१५ दिनमै तयार गरेर चार्ज गर्छौं । यसलाई ब्याक बोनको रूपमा लिएका छौं । जसले गर्दा सम्पलाईको रिलायबिलिटी एकदमै बढेर जान्छ । खपत पनि बढाउन सक्छौ भने निर्यात पनि बढाउन सक्छौं । दशैलगत्तै चार्ज गर्ने तयारी छ,’ उनले भने ।
मन्त्री श्रेष्ठले सवस्टेसनमा निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनका दुईवटा मल्टिसर्किट टावरको कार्यप्रगति विवरणको ब्रिफ्रिङ लिएका थिए । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरूदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिए । हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माण कार्य करिब १२ वर्षदेखि अड्किएर बसेको थियो । हाल उक्त प्रसारण लाइनको काम धमाधम भइरहेको छ ।
हेटौंडा–ढल्केबर प्रसारण लाइन नेपालको ऊर्जाको मेरुदण्डकै रूपमा रहेको मन्त्री श्रेष्ठले बताए । यहाँको लाइन चितवन हुँदै बुटवल जाने र अर्काेतिर ढल्केबर जाने टावरको काम रोकिएको थियो । उनले भने, ‘१६ वटा टावरको काम विगत लामो समय १२ वर्षदेखि रोकिएको थियो । राज्यको अर्बौ रूपैयाँ खर्च भएको तर के गर्ने भन्ने अन्योलतामा सबैको सतप्रयासले ऐतिहासिक काम पनि भएको छ, त्यसले बुटवलको लाइन इनरूवा, इनरूवाको लाइन बुटवल जानसक्ने ऊर्जाको राजमार्ग नै बन्छ । यहाँको दुईवटा टावरको चिन्ता थियो । सबै टिमको सक्रियतामा यो सम्पन्न हुने चरणमा पुगेको छ ।’ मन्त्री श्रेष्ठले यो प्रसारण लाइन बनिसकेपछि नेपालको ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय हुने बताए ।
उनले भने, ‘१२ वर्षदेखि अलमल परेको प्रसारण लाइनले गति लिएको छ । ऊर्जा क्षेत्र अब स्टेबल हुन्छ । अहिले तीन सय मेगावाट क्षमता छ भने यहाँबाट ढल्केवर गइरहेको हो । यो बनिसकेपछि दुई हजार मेगावाट क्षमतामा विद्युत् प्रवाह हुन्छ । यो चानचुने उपलब्धि होइन ।’ मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि औद्योगिक क्षेत्र विद्युत् मागको सम्बोधन गर्न सहज हुने बताए । यसले अन्तर्देशीय विद्युत् व्यापार र वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिन समेत महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।