काठमाडौं, सेयर बजार मंगलबार उकालो लागेको छ । यस दिन नेप्से परिसूचक सात दशमलव शून्य छ अंकले उकालो लागेर २६ सय ५४ दशमलव २८ विन्दुमा चढेको हो । मंगलबार तीन सय ५६ वटा सेयर ६० हजार छ सय ९१ पटक कारोबार भए । जसमा दुई करोड १५ लाख ८९ हजार सात सय ६१ कित्ता खरिद बिक्रीसँगै कुल कारोबार रकम सात अर्ब नाघेको हो ।
यसदिन १३ मध्ये छ समूह घटे पनि बाँकी बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्से बढेको दिन फाइनान्स ११ दशमलव ८८, जलविद्युत् पाँच दशमलव ४५, निर्जीवन बीमा दुई दशमलव ३९ अंकले ओरालो लागेका छन् । त्यसैगरी उत्पादनमुलक, सामूहिक लगानी कोष र व्यापार सूचक पनि क्रमशः २६ दशमलव ३२, शून्य दशमलव शून्य पाँच र ३० दशमलव ८९ विन्दुले खुम्चिएका छन् ।
तर वाणिज्य बैंक पाँच दशमलव २९ अंकले उकालो लागेको छ । यस दिन विकास बैंक २३ दशमलव ६८, जीवन बीमा ९८ दशमलव ८३ अंकले बढेको नेप्सेले जनाएको छ । लगानी, लघुवित्त र अन्य समूहका सूचक पनि क्रमशः शून्य दशमलव ४७, २२ दशमलव शून्य पाँच र २४ दशमलव ९७ विन्दुले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेड परेकोमा गुमाउने कम्पनीहरूको सूचीमा स्नो रिर्भस लिमिटेड पहिलो स्थानमा परेको छ । हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड भने यस दिन बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको छ ।