काठमाडौं, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ । नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी तीन सय भन्दा बढीको सहभागिता थियो ।
कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन् । उद्घाटन समारोहमा अध्यक्ष सिंहले बदलिँदो प्रविधि र व्यावसायिक परिवेश अनुसार कर्मचारीलाई सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत डिजिटल कनेक्टिभिटीसम्बन्धी तालिमलाई प्राथमिकता दिइने बताइन् । कर्मचारीको क्षमता अभिवृद्धिमा कम्पनीले आवश्यक लगानी गर्ने उल्लेख गर्दै उनले कर्मचारीको दक्षता र कार्यक्षमताले कम्पनीको व्यवसाय प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुर्याउने बताइन् ।
सो अवसरमा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोइ अवार्ड–२०८३’ प्राप्त गर्ने शिवेश ठाकुर (इटहरी), गीता कुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा (काठमाडौं), अनिल श्रेष्ठ (विरौटा), सुवासमणि पोखरेल (नेपालगञ्ज), प्रमिला मल्ल (नेपालगञ्ज) र विष्णुजंग शाही (जाजरकोट) लाई अध्यक्ष सिंहले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागीलाई स्वागत गर्दै ग्राहक नै व्यवसायको मुख्य स्रोत भएकाले सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । संस्थाका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने बताउँदै उनले ‘समस्या जहाँ भए पनि त्यो संस्थाकै समस्या हो’ भन्ने भावनाका साथ समाधान खोज्नुपर्ने बताए ।
चारदिने कार्यक्रममा कर्मचारीलाई विभिन्न विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो । नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा खेल्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कर्मचारीको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन अभिवृद्धिका लागि विभिन्न अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गरिएको थियो । सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए । विभागीय प्रमुखहरूसँग प्यानल डिस्कसन तथा कर्मचारीबीच परीक्षा सञ्चालन गरिएको थियो । त्यस्तै, अन्तर कर्मचारी फुटसल, टेबल टेनिस र टग अफ वारलगायतका खेलकुद प्रतियोगिता सञ्चालन गरी विजेता टोली तथा खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई रिफ्रेसमेन्टका लागि कर्णाली चिसापानी भ्रमणसमेत गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्य संस्कृतिको विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।