सरकारले सुरक्षित प्रसूतिका लागि अस्पताल भए त्यहाँ जान नभए स्वास्थ्यचौकी जान दिनैपिच्छे आकर्षक विज्ञापन गरिरहेको हुन्छ । विज्ञापनमात्र होइन कतिपय ठाउँमा त मातृशिशुका लागि नै आकर्षक उपहार पनि दिने गरिन्छ । यस्तो उपहार कतिपय ठाउँमा नगद र कतिपयमा वस्तु पनि होलान् । यसको उद्देश्य भनेको प्रसूतिका लागि गर्भिणी महिला अर्थात् प्रसवकालमा रहेका महिलालाई अस्पताल जान पे्ररित गर्नु हो । मातृशिशुको जीवन सुरक्षित गर्नु हो । यस्तो प्रेरणा राज्यले गरेको एउटा राम्रो काम मध्येमा पर्छ । वास्तवमा नै यसले एकैपटक दुई जीवनको सुरक्षा गर्छ । यस्तो नीतिको प्रभाव नै हो, जसले नेपालीको सरदर आयु बढाएको भनेर अन्तर्राष्ट्रिय मञ्चमा सहभागीहरूले पटक–पटक दोहोर्याइरहेको हुन्छ । तर पछिल्लोसमय यो कुरा खण्डित हुन थालेको हो कि भन्ने शंका उब्जन थालेको छ । त्यो पनि भर्खरमात्र ठूलो जनमतका साथ निर्वाचन जितेको सरकारले शासन गरिरहेको बेला । सरकारले यस्तो नीति अघिल्ला सरकारहरूले ल्याएको भनेर अस्पतालमा प्रसूतिका लागि झन् प्रेरित गर्नुपर्ने ठाउँमा अस्पताल पुगेकाहरूलाई पनि सेवा नदिई फर्काउन थालेको हो भने यो धेरै नै दुःखद् हुनुपर्छ ।
पछिल्ला महिनादिनका बीचमा प्रसव पीडाबाट छट्पटाइरहेकी महिलालाई प्रसूति सेवा नदिई पैसाको अभावका कारण अस्पतालको गेटबाटै लतारेर निकालिएका वा लखेटिएका दुईवटा घटना प्रकट भए । यस्ता घटना हुँदा पनि सरकार भने प्रतिकृया बिहीन र≈यो । केही पहिले पैसा नभएका कारण अस्पतालबाट लखेटिएकी महिलाले अस्पतालकै गेटमा शिशुलाई जन्म दिएकी घटना सेलाउन नपाउँदै अर्र्की एक महिलाले प्रसूतिका लागि अस्पताल लगिएको एम्बुलेन्सभित्रै प्रसूति गराउन बाध्य भएकी समाचार आएको छ । यद्यपि यो प्रसूति एम्बुलेन्सभित्रै थियो तर प्रकारान्तरले यो प्रसूति पनि सडक जस्तै हो, किनभने त्यहाँ न चिकित्सक थिए न औषधि नै ।
यो घटना सुनसरीको कोशी गाउँपालिका–३ कि लालु सदाको हो । जसले एम्बुलेन्सभित्रै प्रसूति गराउन बाध्य भएकी छन् । उनी जुन अस्पतालमा गएर शिशुलाई जन्म दिन खोजेकी थिइन् । त्यो जिल्ला अस्पताल इनरुवाले भर्ना लिन नमानेपछि उक्त अवस्था आइपरेको बुझिएको छ । उनका आफन्तका अनुसार कागजात नमिलेको भन्दै अस्पतालले भर्ना गर्न मानेन । यो भनेको अत्यन्त साधारण कुरा थियो । अस्पतालले आवश्यक जाँच तथा उपचार गरेर प्रसूति हुन दिएको भए यस्ता कागजात पछि पनि मिलाउन सकिन्थ्यो । बताइएअनुसार त्यहाँका सम्बन्धित चिकित्सकले ठूलो जोखिम लिनुपर्ने र त्यसो गर्न नसकिने भन्दै जुन एम्बुलेन्समा ल्याइएको हो त्यसैमा फिर्ता पठाइयो । फलस्वरुप अर्को अस्पताल लैजाने क्रममा बाटैमा त्यही एम्बुलेन्सभित्र उनले सामान्यरुपले नै शिशुको जन्म दिइन् ।
शिशुको जन्म त सामान्य भयो तर घटना भने असामान्य नै रह्यो । त्यसमाथि सरकारले कुनै चासो नदेखाएको विषय त झनै डरलाग्दै छ । सुत्केरी बेथा लागेकी महिलालाई सेवा दिएविना नै लखेट्ने जिल्ला अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालनमा रहेको र उक्त सेवाका लागि १५ शैय्या उपलब्ध भएको बताइएको छ । आफन्तहरूका अनुसार गर्भवती तथा सुत्केरीसम्बन्धी जाँचका लागि नै यो अस्पताल स्थापना भएको हो । अस्पतालले दिने प्रमुख सेवा भनेर पनि लेखिएको छ ।
यो घटनाकै छेउछाउमा अघिल्लो महिना सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा पनि यही कुरा भएको थियो । अस्पतालको बेडमा राखिसकिएकी प्रसव वेदनकी महिलालाई त्यहाँबाट निकालेर सडकमा पुर्याइयो । त्यसबेला उनीसंग पैसाको अभाव रहेको भनिएको थियो । प्रसूति सेवा भनेको सामान्य होइन । यसले दुईवटा जीवनसँग सम्बन्ध राख्छ । पैसाभन्ने कुरा पछि पनि हिसाब–किताब भएर जोगाड हुन सक्दछ । यदि उनीहरूले तिर्न नसक्ने अवस्था हो भने त्यसैका लागि राज्य चाहिने हो । यी दुवै अस्पताल सरकारी हुन् । त्यसकारण पनि यसमा राज्यको दोष देखिनुपर्छ ।