काठमाडौ, नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज तथा एनटी फाइबरमा प्रयोग हुने मेस एपी अफरको अवधि थप गरेको छ ।
कम्पनीले असोज ८ देखि सुरु गरेको मेस एपी तथा असोज ३० देखि वितरण सुरु गरेको ३० एमबीपीएस एनटी फाइबर प्याकेज दुबैको समय थप गर्ने निर्णय गरेको जनाएको छ । ग्राहकको मागलाई मध्यनजर गरी दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म थप गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको हो । हाल निकै नै चर्चा पाइरहेको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । त्यसैगरी घरका सबै स्थानहरुमा वाइफाई उपलब्ध गराउनका लागि आवश्यक मेस एपी ४० प्रतिशत छुट मूल्य सहित २ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।
दसैं तिहार अफरको रुपमा उपलब्ध वाईफाई व्यक्तिगत प्याकेज अन्तर्गत नयाँ ग्राहकहरुलाई उक्त प्याकेजमा ३ हजार रुपैयाँ छुट प्रदान गरिएको थियो । सो सुविधा भने कात्तिक ३० सम्म मात्रै रहेको कम्पनीले जनाएको छ । यस अनुसार डिमान्ड पोर्टलमार्फत आगामी कात्तिक ३० सम्म नयाँ जडानका लागि आवेदन दर्ता गराइसक्ने ग्राहकहरुलाई सो छुट सुविधा उपलब्ध हुनेछ ।