मध्यपश्चिम नेपालको दैलेख र सुर्खेत जिल्लाका जंगल र पहाडी बस्तीहरूमा घुमन्ते जीवन बिताउने अझै पनि त्यस्तो समुदाय छ जो हाम्रो आधुनिकताको दौडबाट कोषौँ टाढा छ । राउटे समुदायको आफ्नै संस्कृति, आफ्नै परम्परा र जीवन जिउने एउटा अलग शैली छ । नेपालका अन्तिम घुमन्ते जनजातिहरूको रूपमा चिनिने राउटेहरूको जीवन धेरैको लागि सधैँ जिज्ञासाको विषय बनेको छ ।
हामीहरू प्रायः उनीहरूको सरल जीवन, न्यूनतम आवश्यकता र उनीहरूमा कुनै पनि चिन्ता नभएको अवस्थालाई हेरेर ईष्र्या गर्छौँ । हामी सोच्छौँ र भन्छौँ कति सुखी छन् यी राउटेहरू, जसका कलिला उमेरका बालबालिकाहरूमा पढाइको चिन्ता छैन, जसलाई बैंकको कर्जाको बोझ छैन र जसलाई कुनै पनि महंगो सामानको लोभ छैन । तर के साँच्चै राउटेहरू सुखी छन् त ? के हामीले उनीहरूको जीवनको कठोर वास्तविकतालाई बेवास्ता गर्दै एउटा रोमाञ्चकारी कल्पना मात्र बनाइरहेका त छैनौँ ? यस्ता प्रश्नहरूले हामीलाई गहिरो आत्म–समीक्षा गर्न बाध्य बनाउँछन् । नेपालका राउटेहरू खुसी र सुखी छन् भन्ने बुझाइ एउटा भ्रामक मिथक मात्र हो कि वास्तविकता पनि ? यसको उत्तर खोज्न हामीले उनीहरूको बस्तीका दैनिकी, संघर्ष र बदलिँदो परिवेशलाई नजिकबाट निहालेर हेर्नुपर्छ ।
राउटे समुदाय नेपालको अमूल्य सांस्कृतिक सम्पदा हो । उनीहरूको घुमन्ते जीवनशैली, वनसँगको गहिरो सामीप्य र काठका भाँडाकुँडा बनाउने सीप अद्वितीय छ तर वास्तविकता यो हो कि यो समुदाय आज अस्तित्वको संकटमा छ । सरकारले उपलब्ध गराएको भत्ता, विभिन्न संघसंस्थाको सहायता र जिज्ञासु पर्यटकहरूको आगमनले उनीहरूको जीवनमा आर्थिक सहजता त ल्यायो तर त्यसको साथै यसले कतिपय विनाशकारी कुलतहरू पनि आफ्नो साथमा लिएर आयो । सात–आठ वर्षका राउटे बालकहरूको मुखमा चुरोटको धुवाँ देख्दा जो–कोहीलाई पनि दुःख लाग्छ साथै रक्सी र जाँडको कुलतले गर्दा राउटे पुरुषहरूको अकाल मृत्युको दर चिन्ताजनक रूपमा बढिरहेको छ ।
एक समयमा पैसा छुनु पाप हो भन्ने मान्यता बोकेका उनीहरू आज रक्सीको जोहो गर्न पैसा मागिरहेका छन् । कतै रक्सी खान पाइन्छ कि भन्ने आशाले सुर्खेतको वीरेन्द्रनगर बजारको होटलमा बास माग्न जाने उनीहरूको बाध्यता र होटलवाला साहुजिले राउटेहरूलाई हप्काउँदै बास नदिई पठाएको हेर्न सुर्खेतको वीरेन्द्रनगर बजारका होटलहरूमा प्रायःजसो देख्न पाउनु गाह्रो हुँदैन । यस्ता घटनाहरूले राउटेहरूको जीवन बदलिँदै गएको संकेत गर्छ । उनीहरू यो सोच्छन् होटलमा बास बस्न पाउँदा कतै रक्सी खान पो पाइहालिन्छ कि ! उनीहरूको यो मानसिकता आफैँमा एउटा विडम्बना हो ।
विकृत आर्थिक सहायता
राउटेहरूलाई सहयोग पुर्याउने निकायहरूले प्रायः उनीहरूको जीवनस्तर सुधार्न चाहन्छन् तर राउटे समुदायमा अव्यवस्थित सहायताको प्रभाव उल्टो परेको छ । उनीहरूले काठका भाँडाकुँडा बनाएर गाउँलेहरूलाई बेच्ने वा भेट्न आउने पाहुनाहरूलाई सामग्री दिएर नगद लिने गर्छन् । त्यो नगद तुरुन्तै मादकपदार्थमा खर्च हुन्छ । भौतिक सहायता राउटेहरूको लागि रक्सीको मूल्य बन्न पुग्दा हिजोआज राउटे समुदायको स्वास्थ्य र सामाजिक संरचना कमजोर बन्दै गएको छ । व्यक्तिगत र संस्थागत सहायताको दुरुपयोगको यो चक्र तोड्नु अत्यन्त जरुरी भइसकेको छ । त्यति मात्र होइन आफ्नो सामग्रीलाई पैसामा बदलेर रक्सी किन्ने कुलतले उनीहरूको पारिवारिक जीवन र स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । बालबालिकाहरूले पनि यही बानी सिकिरहेका छन् जसले गर्दा यो समस्या पुस्तौँसम्म सर्ने खतरा बढेको छ । राउटेहरूलाई अनावश्यक व्यक्ति र संघसंस्थाको अनावश्यक पहुँचबाट अलग राख्नु अहिलेको मुख्य आवश्यकता हो ।
संवैधानिक अधिकारको संकट
राउटेहरूको संवैधानिक अधिकार भनेको नेपालको संविधानले सुनिश्चित गरेअनुसारको जीवन उनीहरूले जिउन पाउनु हो र उनीहरूले आफ्नै इच्छाले बाँच्न पाउनु हो । तर हाल आएर राउटे बस्तीमा विभिन्न युट्युबर, पत्रकार र अनुसन्धानकर्ताको अत्यधिक पहुँचले उनीहरूको जीवनको स्वतन्त्रतामाथि हस्तक्षेप भएको छ ।
राउटेहरूलाई कसैले उनीहरूको बस्तीतमा गएर केही सामग्री दिन्छ, कसैले भिडियो बनाउँछ र कसैले सहयोगको नाममा उनीहरूलाई नियन्त्रण गर्न खोज्छ, जसले हिजोआज उनीहरूको गोपनीयता र स्वतन्त्रतालाई खतरामा पारेको छ ।
राउटेहरू कुनै नागरिकता चाहँदैनन्, बैंक खाता चाहँदैनन् वा आधुनिक सुविधाहरूको लालसा राख्दैनन् । यो उनीहरूको आफ्नो रोजाइ हो तर यो स्थितिले उनीहरूलाई राज्यको सेवा र सुरक्षाबाट पनि वञ्चित बनाउँछ । यो साँचो होइन कि राउटेहरूमा कुनै लोभ छैन । हामीले राउटेहरूको जीवनलाई सरलता र प्रकृतिप्रेमको लागि प्रेरणाको रूपमा लिन सक्छौँ तर हामीले गल्ती गर्नुहुँदैन र उनीहरूको कठिनाइलाई हाम्रो मानसिक शान्तिको उपकरण बनाउनु हुँदैन । राउटेहरूको वास्तविक अवस्थाको सामना गर्दै हामीले उनीहरूको अस्तित्वको गरिमा, स्वास्थ्य र संस्कृतिको संरक्षणको कुरा गर्नुपर्छ । उनीहरूलाई आत्मनिर्भर र स्वस्थ बनाउन सहयोग पु¥याउनु हाम्रो नैतिक कर्तव्य हो । सरकार, सरोकारवाला निकाय र समाजले राउटेहरूको समग्र विकासका लागि योजना बनाउनु आवश्यक छ । रक्सी र धुम्रपानको कुलत नियन्त्रण, नियमित स्वास्थ्य जाँच, बालबालिकाहरूको शिक्षा र उनीहरूको सांस्कृतिक पहिचानको संरक्षणलाई प्राथमिकता दिनुपर्छ ।
राउटे समुदायको मौलिक पहिचान, संस्कृति र जीवनशैली जोगाउन उनीहरूको परम्परागत सीप र ज्ञानलाई सम्मानपूर्वक प्रवद्र्धन गर्न आवश्यक भइसकेको छ । काठका भाँडाकुँडा बनाउने उनीहरूको उत्कृष्ट सीपलाई विशेष रुपले उत्पादन भएको उनीहरूको आफ्नै ट्यागमार्फत राष्ट्रिय बजारमा पु¥याउँदा आम्दानी बढ्नुका साथै उनीहरूको सांस्कृतिक पहिचान पनि सुरक्षित रहन्छ । कर्णाली प्रदेशले प्रस्ताव गरेको ‘राउटे करिडोर’ले उनीहरूको घुमन्ते जीवनशैलीलाई असर नगरी उनीहरूलाई स्वास्थ्य र शिक्षा सेवा उपलब्ध गराउन सक्छ । साथै सांस्कृतिक पर्यटन, जडीबुटी तथा वन र जंगलजन्य वस्तुको दिगो उपयोगसम्बन्धी तालिम र बजारसँगको पहुँचले राउटे समुदायलाई केवल सरकारी निकायबाट प्राप्त हुने मासिक भत्तामा मात्र निर्भर नराखी उनिहरूलाई सम्मानजनक, आत्मनिर्भर र दिगो भविष्यतर्फ अघि बढ्न सहयोग पु¥याउनेछ । उनीहरूलाई आर्थिक सहायता दिनुभन्दा पनि उनीहरूले उत्पादन गरेका काठका भाँडाकुँडा बनाउने पेसाको बजारीकरण गर्न सहयोग गर्नुपर्छ ता कि उनीहरू सम्मानजनक जीवनयापन गर्न सकून् ।
राउटे समुदायका बीचमा लामो समयदेखि सामाजिक सेवा गर्दै आएका सामाजिक कार्यकर्ता केशरबहादुर विश्वकर्माकी कान्छी छोरीले अर्थपूर्ण सुझाव दिइन् र भनिन्, ‘तपाईंलाई राउटेहरूले अहिले विश्वास गर्दैनन् तर बिस्तारै–बिस्तारै सम्बन्ध राम्रो बन्दै गएपछि उनीहरूले तपाईंलाई विश्वास गर्न थाल्नेछ्न् ।’
यो सामान्यजस्तो लाग्ने भनाइले राउटे समुदायको जीवनशैली, बाहिरी समाजप्रतिको उनीहरूको सावधानी र विश्वास जित्न समय, धैर्य तथा निरन्तर सम्बन्ध आवश्यक पर्ने यथार्थलाई स्पष्ट रूपमा उजागर गर्छ । उनीहरूमा विश्वास कुनै क्षणिक व्यवहारबाट होइन बरु समयसँगै बनेको आत्मीय सम्बन्धबाट स्थापित हुन्छ । यही अनुभव विगत सात–आठ वर्षदेखि राउटे समुदायको बीचमा काम गर्दै आएकी एक महिला सामाजिक कार्यकर्ताले पनि सुनाइन् । उनका अनुसार प्रारम्भिक दिनहरूमा राउटेहरू बाहिरका मानिससँग बोल्नसमेत रुचाउँदैनथे र निकै दूरी कायम गर्थे तर नियमित भेटघाट, सम्मानपूर्ण व्यवहार र निरन्तर सम्पर्कका कारण अहिले उनीहरू बिस्तारै खुल्न थालेका छन् र सहज रूपमा घुलमिल हुने वातावरण बनेको छ । यस अनुभवले राउटे समुदायसँग काम गर्दा विश्वास, धैर्य, सम्मान र संवेदनशीलता नै सफल सम्बन्ध निर्माणका सबैभन्दा महत्वपूर्ण आधार हुन् भन्ने सन्देश दिन्छ ।
सोही समुदायमा विगत चार पाँच वर्षदेखि सामाजिक सेवा पु¥याउँदै आएका सामाजिक कार्यकर्ता केशरबहादुर विश्वकर्मा भन्छन्, ‘सुरुसुरुमा मसँग राउटेहरू बोलचाल गर्न मनपराउँदैनथे तर जब मैले राउटे मुखियालाई नजिकैको होटलमा लगेर रक्सी खुवाए र केही पैसा दिए त्यसपछि मात्र उनीहरू मसँग बोलचाल गर्न थाले ।’
चेतावनी र आग्रह
राउटेहरू हाम्रो प्रेरणाका स्रोत मात्र नभएर जिम्मेवारीका स्रोत पनि हुन् । उनीहरूको सरल जीवन हाम्रा लागि पाठ हो तर उनीहरूको पीडा हाम्रो लागि पाठ हुनु हुँदैन र उनीहरूलाई हामीले चित्त बुझाउने सामग्री बनाउनु हुँदैन । बरु उनीहरूको जीवनस्तर सुधार्न र उनीहरूको अस्तित्वको सुरक्षाका लागि हामीले कुनै ठोस कदम चाल्न सक्नुपर्छ ।
हाल आएर राउटे समुदायको भविष्य अन्योल देखिन्छ र आज उनीहरूको संस्कृति हराउँदैछ, उनीहरूको स्वास्थ्य बिग्रँदैछ र अहिले उनीहरूको अस्तित्व नै खतरामा परेको छ । यो संकटको घडीमा हामी सबैको साझा कर्तव्य यो हो कि अब हामी मौन नबसौँ । पत्रपत्रिकाका आउने समाचारहरू, सामाजिक सञ्जालका भिडियोहरू र स्वदेशी र विदेशी पर्यटकको उत्सुकताले उनीहरूको जीवनलाई अब थप बाधा नपु¥याओस् बरु सरकारी नीति र हाम्रो साझा प्रयासले उनीहरूलाई सम्मान प्रदान गरोस् ।
हामी सामान्यतः राउटेहरूको जीवनलाई एक प्रकारको अस्तित्वको संघर्षको रूपमा हेर्छौँ, जहाँ उनीहरूका चाहनाहरू न्यूनतम हुन्छन् र उनीहरूको जीवनको मुख्य उद्देश्य जिविका चलाउने मात्र हो । तर के यस अवस्थामा उनीहरूलाई वास्तविक खुसी र सुख मिल्छ ? उत्तर सायद नकारात्मक हुनेछ । एक व्यक्तिको जीवनको वास्तविक खुशी र सुख केवल भौतिक अवस्थाको आधारमा मात्र होइन मानसिक शान्ति, आत्मसन्तुष्टि र समाजमा आफ्नो स्थानको अनुभूति पनि महत्वपूर्ण हुन्छ । राउटेहरूलाई यी सबै आयामहरूबाट हेर्दा वञ्चित भएको देखिन्छ ।
राउटेहरूको जीवनमा सामाजिक विभेद र बहिष्कारले पनि महत्वपूर्ण भूमिका खेल्दछ । समाजमा उनीहरूको स्थान प्रायः अन्यायपूर्ण रूपमा थिचिएको छ र समाजमा उनीहरूलाई प्रायः उपेक्षित गरिएको छ जसका कारण उनीहरूले आत्मसम्मानको अनुभव गर्न सक्दैनन् । यसले उनीहरूको मानसिक स्वास्थ्यमा समेत गम्भीर प्रभाव पार्न सक्छ र उनीहरूको सुखको खोजीमा मद्दत पु¥याउँदैन तर यसका बावजुद राउटेहरूको जीवनमा कुनै समय खुशीका क्षणहरू पनि हुन्छन् । उनीहरूको जीवनमा संघर्ष र अभावका बीच केही साना खुशीका पलहरू पनि हुन्छन् जसमा उनीहरू एक–अर्कालाई साथ दिन्छन् र उनीहरू आफ्नो परिवारमा प्राकृतिक सौँदर्यको आनन्द लिन्छन् तर यस्ता क्षणहरू चाँडै समाप्त हुन्छन् र पुनः उनीहरूको जीवनमा कठिनाइहरू आउँछन् ।
राउटेहरूको जीवनको बारेमा सोच्दा हामीले एक महत्वपूर्ण कुरा बुझ्नुपर्छ कि बाह्य अवस्थाको आधारमा हाम्रो आन्तरिक सुख र खुशीको मूल्यांकन गर्नु उचित हुँदैन । हामीलाई राउटेहरूको जीवनलाई देखेर कस्तो महसुस हुन्छ भने हामी आफैँ पनि आफ्नो जीवनका संघर्ष र समस्याहरूको समाधान खोज्न सक्छौँ । राउटेहरूलाई केवल उदाहरणको रूपमा हेरेर हामी आफूलाई खुसी पार्न सक्दैनौँ । वास्तविक खुशी र सुख भनेको मात्र भौतिक अवस्था नभई आत्मिक शान्ति र मानसिक सुख पनि हो । त्यसैले, राउटेहरूलाई हेरेर हामीले चित्त बुझाउने एउटा बाटो मात्र पाउँछौँ । आफूलाई खुसी पार्न उनीहरूको उदाहरण पेस गर्न मात्र सक्छौँ तर वास्तवमै उनीहरूमा खुसी र सुख छैन ।
पुस र माघमा चिसो पालमा ओड्ने र ओछ्याउने लुगा कपडाविना आधा पेट खाएर बाध्यतामा सुत्नुपर्ने जीवन पाएका राउटेहरू के वास्तवमै खुसी र सुखी छन् त ? राउटेहरूको जीवनसँग सहानुभूति र समझदारी राख्दै हामीले आफ्नो जीवनका कठिनाइहरूसँग जुझ्दै अघि बढ्न सिक्नुपर्छ । तसर्थ राउटेहरूको वास्तविक स्थिति हेरेर मात्र हामी चित्त बुझाउने होइन तर समाजमा उनीहरूको अधिकार र समानता सुनिश्चित गर्ने कदम पनि हामीले चाल्नुपर्छ । राउटेहरूको हाँसो नहेरौँ तर उनीहरूको आँसु हेरौँ । उनीहरूको संघर्षबाट प्रेरणा लिऔँ तर उनीहरूको पीडालाई बेवास्ता नगरौँ ।
समाजका यी विशेष सदस्यहरूको हकमा सजग र संवेदनशील बनौँ । राउटेहरू नेपालका अनुपम सम्पदा हुन् तर आज सम्पदाको संरक्षणका लागि भावनात्मकभन्दा व्यावहारिक पहलको आवश्यकता छ । आउनुहोस् उनीहरूको जीवनको साँचो सुखको लागि सोचौँ र उनीहरूलाई उनीहरूको आफ्नै आँगनमा, आफ्नै शैलीमा, स्वस्थ र सम्मानजनक जीवन जिउन पाउने वातावरण उपलब्ध गराआँै । त्यसपछि मात्र अनमोल संस्कृति तर दयनीय बाध्यता भएको राउटे समुदाय हाम्रो प्रेरणाको स्रोत मात्र नभएर एकदिन हाम्रो गौरव पनि बन्नेछ ।