काठमाडौं, शेयर बजार परिसुचक नेप्से झिनो अंकले उकालो लागेको छ । अघिल्लो दिन नौं दशमलव शुन्य चार अंकले खुम्चिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार शुन्य दशमलव ७९ अंकले उकालो लागेर २६ सय ४१ दशमलव ८५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८५ अंकले उकालो लागेर चार सय ६२ दशमलव २२ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ४० वटा कम्पनीहरुको ५२ हजार ७३ पटकको कारोबारमा ९५ लाख ३४ हजार दुई सय २१ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ११ करोड नौं लाख ७४ हजार छ सय ७४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी र अन्य उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, निर्जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् ।