कुनै समय यस्तो थियो, जब कुनै सूचना वा सन्देश प्रवाह गर्न झ्याली पिटिन्थ्यो, घण्टी बजाइन्थ्यो वा ठूलो ढोल बजाइन्थ्यो। त्यसपछि दूत, हुलाक तथा अन्य परम्परागत सञ्चार माध्यममार्फत सन्देश आदानप्रदान हुन थाल्यो। समयक्रमसँगै पत्रपत्रिकाको विकास भयो, अनि विद्युतीय सञ्चार माध्यमको युग सुरु भयो। रेडियोले सूचना र समाचार जनतासम्म पुर्याउने महत्वपूर्ण भूमिका निर्वाह गर्यो भने त्यसपछि टेलिभिजनको आगमनसँगै सूचना, समाचार र विज्ञापनको संसार अझ व्यापक बन्यो।
आजको समयमा भने अवस्था पूर्णतः बदलिएको छ। धेरै मानिसहरूले टेलिभिजनभन्दा बढी मोबाइल फोन र इन्टरनेटको प्रयोग गर्छन्। हरेक व्यक्तिको हातमा स्मार्टफोन छ, इन्टरनेट छ र विभिन्न सामाजिक सञ्जालहरू छन्। अब संसारको कुनै पनि कुनामा भएको सूचना केही सेकेन्डमै अर्को कुनासम्म पुग्न सक्छ। प्रविधिको विकाससँगै मानिसको जीवनशैली सहज, सुविधासम्पन्न र समय बचत गर्ने दिशामा अघि बढिरहेको छ ।
आजकल नेपालमा पनि अनलाइन व्यापार निकै फैलिएको देख्न सकिन्छ। सामान्य सामान जस्तै ५०÷१०० को वस्तुदेखि महँगो र ठूला–ठूला सामानसम्म, अर्थात् नुनदेखि सुनसम्म, अनलाइन किन्ने चलन बढ्दै गइरहेको छ। साथै सामाजिक सञ्जालका विज्ञापनले घरमै बसेर वा मोफसलमा बसेर गरेको व्यापारमा उल्लेखनीय वृद्धि भएको पाइन्छ। यसले हाम्रो जीवनलाई सहज बनाएको पनि छ, तर यसका विकृतिहरू पनि सँगसँगै उत्तिकै मात्रामा बढिरहेको छ। हाल अनलाइन डेलिभरीको सुविधाले पनि त सबै सम्भव भएको हो र अनलाइन व्यापारकै एक अंग पनि भएको छ।
पहिले कुनै सामान खरिद गर्न बजार धाउनुपर्ने बाध्यता थियो। पसल–पसल घुमेर सामान हेर्ने, मूल्य सोध्ने, गुणस्तर तुलना गर्ने र मोलमोलाइ गर्नुपर्ने अवस्था थियो। तर आज देश विदेशका अधिकांश वस्तुहरू हातहातै रहेको मोबाइलबाट खरिद गर्न सकिन्छ। अनलाइनमार्फत सामान छनोट गर्ने, मूल्य तुलना गर्ने, अर्डर गर्ने र घरको ढोकामै सामान प्राप्त गर्ने सुविधा उपलब्ध भएको छ। यसले बजार धाउनुपर्ने झन्झट हटाएको छ, समयको बचत गरेको छ र दैनिक जीवनलाई धेरै सहज बनाएको छ।
अनलाइन व्यापारमार्फत वस्तु तथा सेवाको पहुँच विस्तार भएको छ। खाद्यान्न, लत्ताकपडा, औषधि, विद्युतीय उपकरण, पुस्तक, शैक्षिक सामग्रीदेखि दैनिक उपभोगका वस्तुसम्म घरमै बसेर खरिद गर्न सकिने अवस्था बनेको छ। यसले विशेषगरी व्यस्त शहरी जीवन, ज्येष्ठ नागरिक, अशक्त व्यक्ति तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उल्लेखनीय सुविधा प्रदान गरेको छ। साथै, डिजिटल भुक्तानी प्रणालीको विस्तारले कारोबारलाई अझ छिटो, सुरक्षित र पारदर्शी बनाएको छ।
आधुनिक प्रविधिले मानव जीवनलाई सरल र सुविधायुक्त बनाएको कुरा नकार्न सकिँदैन। मानिसले सहज रूपमा सेवा र वस्तु प्राप्त गर्न पाएको छ। तर, यी सबै सुविधाका बीच केही गम्भीर प्रश्नहरू पनि उठिरहेका छन्।
के सबै अनलाइन बजार वास्तवमै उपभोक्ताको हितमा सञ्चालन भइरहेको छ? के वस्तुहरू बजार मूल्यअनुसार नै बिक्री भइरहेका छन्? के उपभोक्ताले तिरेको मूल्य वस्तुको वास्तविक गुणस्तरसँग मेल खान्छ त? के अनलाइनमा देखाइएको वस्तु र घरमा प्राप्त भएको वस्तु एउटै हुन्छ? के सामान समयमै डेलिभरी हुन्छ? यदि गुणस्तरहीन वा फरक सामान आयो भने उपभोक्ताले सहज रूपमा क्षतिपूर्ति वा फिर्ता पाउँछन् त? यस्ता प्रश्नहरूको उत्तर सधैं सकारात्मक पाइँदैन।
अनलाइन व्यापारको तीव्र विस्तारसँगै ठगी, भ्रामक विज्ञापन, कृत्रिम मूल्यवृद्धि, गुणस्तरहीन वस्तुको बिक्री, ढिलो डेलिभरी, व्यक्तिगत विवरणको दुरुपयोग तथा कर छलिजस्ता समस्याहरू पनि बढिरहेका छन्। कतिपय अनलाइन व्यवसायहरू दर्ताविनै सञ्चालन भइरहेका छन् भने कतिपयले उपभोक्ता संरक्षणसम्बन्धी कानुनको पालना गरेका छैनन्। यसले उपभोक्ताको अधिकारमाथि प्रत्यक्ष असर पारिरहेको छ।
त्यसैले अनलाइन व्यापारलाई व्यवस्थित, विश्वसनीय र उत्तरदायी बनाउन प्रभावकारी नियमन अपरिहार्य भएको छ। सरकारले अनलाइन व्यवसायको अनिवार्य दर्ता, मूल्य पारदर्शिता, गुणस्तर परीक्षण, उपभोक्ता गुनासो व्यवस्थापन, डाटा सुरक्षा, कर प्रणालीको प्रभावकारी कार्यान्वयन तथा अनुगमनलाई थप सुदृढ बनाउन आवश्यक छ। साथै, अनलाइन प्लेटफर्महरूले पनि आफ्नो सामाजिक उत्तरदायित्व बुझ्दै उपभोक्ताप्रति इमानदार र जवाफदेही बन्नुपर्छ ।
प्रविधिको विकासलाई रोक्न सकिँदैन, न त अनलाइन व्यापारको विस्तारलाई। तर यसको दिगो विकासका लागि उपयुक्त कानुनी व्यवस्था, प्रभावकारी नियमन र उपभोक्ताको अधिकारको संरक्षण अनिवार्य छ। प्रविधिको वास्तविक उपलब्धि त्यतिबेला मात्र सार्थक हुन्छ, जब त्यसबाट व्यवसायीले उचित लाभ, उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय सेवा तथा वस्तु र राज्यले पारदर्शी आर्थिक प्रणाली प्राप्त गर्न सक्छ। त्यसैले आजको आवश्यकता अनलाइन व्यापारको विस्तार मात्र होइन, यसको प्रभावकारी नियमन र सुशासन पनि हो ।
एकातिर ग्राहकले घरमै बसीबसी चाहेको चिजबिज पाएर सहज भएको छ भने, अर्कोतिर व्यापार गर्नेले पनि कुनै खास बजारमा वा चलेको बजारमा नबसी नै आफ्नो व्यापार चलाइरहेका छन्। एकातिर सामाजिक सञ्जालमा गरिएको व्यवसाय प्रवर्धनले आफ्नै स्थानमा आएर पनि किन्नेहरूको भीड हुने गरेको छ भने, अर्कोतिर अनलाइनमा मात्र डेलिभरी प्रणालीबाट हुने व्यापारले अर्कै तहको हलचल मच्चाइरहेको छ।
यसले एकातिर पुरानो तरिकाबाट आफ्नै पसल थापेर बस्नेको व्यापार घटिरहेको अवस्था देखाउँछ भने, अर्कोतिर अनलाइनमार्फत व्यापार प्रवर्धन गरेर बाँच्नेहरूले उल्लेख्य मात्रामा व्यापार बढाइरहेका छन्— चाहे त्यो सामान उत्कृष्ट होस्, कमसल गुणस्तरको होस् वा गुणस्तरविहीन नै किन नहोस्।
अनलाइनमा मात्र हेरेर सामान खरिद गर्ने व्यक्तिले कहिलेकाहीं फोटोमा एकथरी र हातमा पाउँदा अर्कै पाउने गरेकाले, समय–समयमा यस विषयमा बहस पनि हुने गरेको छ। साइजको समस्या, गुणस्तरको समस्या र सामानअनुसारको मूल्यमा पनि विविधता पाइने गरेको छ। यसको साथसाथै कतिपय अवस्थामा ठगी पनि भइरहेको पाइन्छ। धेरैको व्यापार बढेको चाहिं सामाजिक सञ्जालमा भाइरल भएर र सामाजिक सञ्जालमार्फत बिक्री प्रवर्द्धन गरेर सम्भव भएको हो ।
यसले के देखाउँछ भने, ’बोल्नेको पिठो पनि बिक्छ तर नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखान चरितार्थ हुने गरेको छ। किनकि चुपचाप पसलमा उत्कृष्ट सामानको व्यापार गर्न बसेकाहरूको व्यापार कम वा शून्य भएको अवस्थामा पनि, अनलाइनमा फलोअर्स भएको र भ्युज तथा कुराकानीका आधारमा बिकाउन सक्नेहरूको सामान समेत धेरै मात्रामा र महँगो मूल्यमा बिकेको पाइएको छ। साथै, हाल सेलिब्रेटीहरूले पनि नयाँ–नयाँ स्टोरहरू खोलेर आफ्नै सामानको ब्रान्ड बनाई व्यापार प्रवर्धन गरेको पाइएको छ। यो नराम्रो कुरा होइन, तर सबैको सामान उत्कृष्ट छ भन्ने चाहिं होइन रहेछ ।
व्यापार गर्न सक्नेले बेच्नु, पैसा कमाउनु र स्थानीय उत्पादनको उत्पादन गर्नु उत्कृष्ट कार्य हो, तर हाल बजारमा भइरहेको अनियन्त्रित बजार प्रवर्द्धनले एक किसिमको विकृति पनि बढ्दै गइरहेको पाइएको छ। साथै आफ्नै ब्रान्ड राखी आफैँ नेपालमा बनाउने वा बाहिरबाट आफ्नै ब्रान्ड राखी बेच्ने मालवस्तुमा पनि चर्को मूल्य राखी बिक्री गर्ने गरेको पाइएको छ। सामानको वास्तविक मूल्यभन्दा अत्यन्तै चर्को मूल्य पाइएको छ। उस्तै प्रकृतिको सामान अर्को पसलमा किन्दा वा प्रवर्द्धन गरी अनलाइनमार्फत किन्न जाँदा, अनि उनीहरूकै स्टोरमा गएर किन्दा समेत बिक्री मूल्य अत्यन्त उच्च भएको पाइएको छ। अचम्म लाग्दो कुरा, कतिले त सामान हेर्न खोज्यो भने रिसाउने र केही भन्न पनि नहुने हुन्छ। मानौं उनीहरू उत्कृष्ट हुन्, ग्राहकले मन पराएका छन्, उनीहरू सामाजिक सञ्जालमा भाइरल भएकै कारण अत्यन्त राम्रो छन् भन्ने उनीहरूको मानसिकता छ ।
साथै, बच्चाले किन्ने सामानमा वा आफ्नै ब्रान्ड बनाएको सामानमा वा नन–ब्रान्डेड सामानमा समेत चर्को मूल्य लिइरहँदा पनि ग्राहकले सजिलै किनेको देख्दा अचम्म लाग्ने गर्दछ। मानिसको जात नै आजकल फलोअर्स धेरै भएकोलाई पछ्याउने र उनीहरूको राम्रो होला भन्ने धारणा बनाएका पाइन्छन्। तर उक्त व्यवसायीहरूले बिक्री गरेअनुसार त्यसको बिल–बिजक जारी गरेको छ वा छैन, राज्यलाई तिर्नुपर्ने कर तिरेको छ वा छैन भनेर सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ। आजकल अनलाइनमार्फत धेरै बिक्री गर्ने बिक्रेता दिनदुगुना–रातचौगुना प्रगति गरिरहेको समेत देखिन्छ, तर स्थानीय वस्तुको वा आयातित वस्तुको समेत मूल्य कति हुनुपर्ने हो, कतिमा बचेको छ भन्ने हेर्ने निकाय नभएजस्तै छ। भएको भए खै कहाँ छ? मृत अवस्थामा बसेको जस्तो छ। सक्नेले लुटिरहेको अवस्था छ, राज्य मौन छ । ग्राहक वा उपभोक्ताको हक कता छ, के उपभोक्ता मारमा पो परिरहेका छन् कि । अनलाइनमै पनि नियमसङ्गत व्यापार गर्ने, आफ्नो व्यापार बढाउन अरूलाई नहोच्याउने, नक्कलीलाई सक्कली भनेर बेच्ने ।
कस्तो पानी खाएको छ, कस्तो चामल–तरकारी खाएको छ, दूध ठीक छ कि छैन, खाजा कस्तो छ भन्ने नहेर्ने सरकारले अरू त के होला। ’जुन जोगी आए पनि कान चिरिएकै जस्तो छ’— नेपालमा नियम त छ तर राम्रो पालना कुनै क्षेत्रमा भएको देखिँदैन, कहाँ कसरी विज्ञापन गरेको छ, कसले कस्तो सामान बेचेको छ भन्ने पनि अनुगमन राम्रोसँग भएको कतै छैन, देखावटी मात्र छ। सानोतिनो केही गरेमा आफ्नो प्रचार फैलाउने मात्र हो जस्तो देखिन्छ। काम गरेको देखाउन सय रुपैयाँ घुस खाएको कुरा समेत समाचारमा आउँछ , तर चाहिने र हुने र गर्नुपर्ने काम कतै भइरहेको छैन। लुट्नेले लुटिरहेको छ, सरकार मौन छ, चुप छ । ’हिरो हुने’ समाचार प्रकाशन गर्नु छ भने चार–पाँचपटक समाचार हुन्छ, तर नागरिकले एकले अर्कालाई ठिचोमिचो गरेको हेर्ने निकाय कोही पनि छैन जस्तो भान हुन्छ ।
वर्षौं व्यापार गरेका व्यापारीलाई अनुगमनको नाममा दुःख दिने राज्य, खुलेआम नाफा कमाइरहेका र कालोबजारी गर्नेहरूलाई टाढा राखेको जस्तो देखिन्छ । अनलाइन व्यापारको नाममा कतिपयले अर्काको व्यापारलाई टाट पल्टाउने बनाउँदा पनि राज्य मौन छ। कतिपयलाई खुलेआम लुटको धन्दा मच्चाउन छुट दिइरहेको छ जस्तो पनि लाग्छ ।
सही तरिकाले काम गरेका, भएको र कमाएको बेला राज्यलाई कर तिरेको व्यापारीलाई ’टाट पल्टियो’ भनी समाचार बनाउँदा धेरै खुसी हुन्छन्, तर उसले गरेको व्यवसाय चौपट भएपछि राज्यले क्षतिपूर्ति र सहुलियत दिएको कतै देखिँदैन। व्यवसाय गर्नैपर्छ, अनलाइन व्यवसायले धेरैलाई नवप्रवर्तन गरेको छ। साना–साना व्यापारीले समेत घाममै बसेर पनि व्यवसाय सञ्चालन गरी धेरैले आफ्नो गुजारा टार्ने गरेका छन्, तर कतिपयले त लुटको धन्दा समेत चलाइरहेका छन्, ठगी कार्य बढ्दै छ। उपभोक्ता ठगिँदै छन्, प्रलोभनमा परिरहेका छन्, सोझासाझा ठगिइरहेका छन् ।
यसैले भन्दा, राम्रो काम गरेकालाई यो विषय उठाउनु गलत सावित हुन्छ, आफ्नो सामानको प्रवर्द्धन गरी व्यापार–व्यवसाय बढाउन पाइन्छ, तर मुख्य रूपमा भन्दा ठगी धन्दा, नक्कली कार्य गर्ने बिक्रेता र सोझा जनतालाई ठग्ने निकायले गर्ने व्यवसायलाई मात्र औंल्याउन खोजिएको हो। जसले ग्राहकलाई सेवा दिइरहेका छन्, जसले उचित नाफा लिएर जनता र उपभोक्तालाई सेवा पुर्याइरहेका छन्, उनीहरूलाई हामीले स्वागत गर्नुपर्दछ। तर आजकल हेर्दा, ठगी गर्ने विज्ञापनलाई पनि अनुगमन नगरी यत्रतत्र छाडिदिनु र ग्राहकलाई ठगीबाट नजोगाउनु राज्यको लापरवाही हो। यो ग्राहकको सही सामान र उचित मूल्यमा पाउने अधिकारलाई बन्देज गरिएको हो।
धेरै नेपालीको धारणामा, भइगो, अब यति त ठगेको हो, यसलाई छोडिदिऔं, होस् भन्ने मानसिकता छ तर यसलाई उपभोक्ता हित संरक्षणसँग सम्बन्धित व्यक्ति र राज्यका सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ। अनलाइन व्यवसायी सबैलाई नराम्रो मान्नु हुँदैन, तर ठग व्यापारी र कालोबजारीको नियन्त्रण हुनुपर्दछ। आशा छ, नाफा कमाउनु पर्छ तर वस्तुअनुसारको मूल्य हुनैपर्छ, सम्बन्धित निकायले पनि ठगी गरिएका वा भ्रमित व्यवसायीहरूको पहिचान गर्नेछ। मूल्य उचित लिएर मात्र ग्राहकलाई सामान बेच्नेछन् र उपभोक्ता ठगिनुबाट जोगिनेछन् ।