विगतका सरकारहरूलाई सकेसम्म गाली गरेर खडा भएको यो सरकार यतिबेला छैठौं महिनामा हिँडिरहेको छ । यो समय भनेको शासनकर्ताहरूले देशलाई कता लैजाँदै छन् भन्ने आम नागरिकले नै बुझिरहेको र भोगी पनि रहेको समय हो । यो समयमा सरकारका गतिविधिहरू नागरिकका आधारभूत आवश्यकताको कतिहदसम्म पूर्ती गर्न सकियो भनेर सरकारले देखाउँने क्षण पनि हो तर अवस्था कस्तोसम्म भने नागरिकलाई राज्यबाट खासगरी उनका आधारभूत कुराहरूमा राज्यविहीनताको अवस्था नै रह्यो । नागरिकका चुल्हा बल्न छाड्नु भनेको सामान्य कुरा होइन । चुल्हो बाल्ने इन्धनको अभावका कारण यो स्थिति आएको हो ।
इन्धनको यस्तो अभाव भएको लामो समय भयो । त्यसबेला इन्धन आउने देशमा व्यवधान पुगेको भनिएको थियो तर देशले जहाँबाट यस्तो इन्धन ल्याउने गरेको हो त्यस्तो देशले भने नेपाललाई पर्याप्त मात्रामा यो वस्तु दिइरहेको छ भनेर त सरकारी निकायले नै बाताइरहेको अवस्था छ । त्यस्तो बेलामा पनि यस्तो अभाव चरममा पुग्यो जो सरकारको छ महिनाको यात्रामा पनि कायमै छ । यसका साथै अभावको अर्को विषय थपियो, जो बाली उत्पादनका लागि नभै हँुदैन । त्यस्तो वस्तु बाली लगाउने बेलामा पाइएन भने त्यो जत्तिको असफलता अरु के होला ।
भात पकाउने इन्धन ग्यासको अभावले घरघर आतंकित भइरहेको बेला बाली लगाउने समयमा प्रकट भएको मलको अभावले किसानहरू झन् बढी पिरोलिइरहेका देखिएको छ । आधारभूत वस्तुका आपूर्तीमा सरकार पूर्ण असफल भएको यो अर्को डरलाग्दो नमुना हो । यति हदसम्म त यसअघि कहिल्यै भएको थिएन होला । याद रहोस्, राज्यले व्यवस्था गर्न नसकेपछि किसान आफैं छिमेकी देशबाट झोलामा ल्याएर पनि बाली लगाउन बाध्य भए । तर सरकारले केही अघि सय रुपैयाँ मूल्यको वस्तुमा कर लगाएर त्यो बाटो पनि रोकिदियो । यो झन् कति क्रूर काम थियो भने, साइकलमा एकदुई बोरा मल ल्याएबापत दुईतिन महिना जेल र घरबारी नै धितो राखेर ठूलो रकमको जरीवाना तिर्न बाध्य भए ।
यस्तो हुँदा पनि सरकारले खासगरी धानबालीका लागि मलको जोहो गराइदिएन । बाली लगाउने बोला किसानले मलै पाएनन् भने किसानको श्रम खेर जानुभन्दा अरु के बाँकी रहला । याद रहोस्, खेतमा बाली लगाउने बेला वर्षको एकपटक मात्र आउँछ । यदि चालू वर्ष यो वा त्यो वहानामा बाली लागेन भने भोकभोकै मर्नुपर्ने अवस्था आउँछ । उनका जीविकोपार्जनको एकमात्र आधार यही बाली हो । यो पक्षबाट हेर्दा भात पकाउने इन्धनको अभाव भन्दा खोतीको सिजनमा किसानले मल नपाउनु झनै डरलाग्दो विषय हो । यस्ता वस्तुको आपूर्तीमा सरकारको उदासिनता कतिसम्म र कस्तोसम्म भने संसद्मा दिनहुँ सरकारको ध्यान आकर्षण गरिँदा पनि वास्ता गरिएन ।
धान रोप्ने बेला दुई लाख टनभन्दा बढी मल चाहिन्छ, तर यता सरकारले किसानलाई एकलाख टन मात्रै वितरण गर्यो भने अभाव कस्तो होला अनुमान गरौं । यो आँकडा सरकारले नै बताएको हो । यो धान रोप्ने बेलाको कुरा हो । यी पंक्तिलेखिएका बेला जेनतेन लगाइएको धान गोड्ने बेला हो । यो बेला युरिया मात्रै कम्तीमा एक लाख टन चाहिन्छ, तर सरकारी गोदाममा दशहजार टन मात्रै मौज्दात छ भने अभाव कस्तो होला अनुमान गर्न सकिन्छ । दुई बोरा मल चाहिनेमा दुई केजी मात्रै दिइएको छ । खेतमा काम गर्न छाडेर दिनभरि लाइन लागेरमात्रै पाइन्छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा दुई लाख टनभन्दा बढी रासायनिक मल आवश्यक पर्छ । तर सरकारले यी दुई महिनामा एक लाख टन मात्रै वितरण गर्न सक्यो । याद रहोस्, किसानले मल त्यसै मागेका होइनन् । सरकारले तोकेको मूल्यमा उनीहरूले खरिद गर्ने हुन् । आपूर्तीमा सरकारको योभन्दा अर्को असफलता के होला ? अनुमान गर्न सकिन्छ ।