काठमाडौँ, नेपाली र नेपाल भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु)को आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा ९१ वर्षको उमेरमा निधन भएको छ । भोलि मंगलबार उनको शव श्रद्धाञ्जलिका लागि नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि नै शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिने परिवारस्रोतले जनाएको छ । उनका श्रीमती, एक छोरी र दुई छोरा छन् ।
विसं १९९२ साउनमा जन्मिएका उनले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’को उपाधि हासिल गरेका थिए । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो । उनले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गरेका थिए । साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् भएका थिए ।